काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित विशेष समारोहमा भोलिदेखि सेवानिवृत्त हुन लाग्नुभएका मुख्यसचिव सुमनराज अर्याललाई बिदाइ तथा भोलिदेखि नै कार्यभार सम्हाल्न लाग्नुभएका नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई स्वागत गरिएको छ।
समारोहमा प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदिप ढकाल, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, प्रमुख स्वकीय सचिव सुवास शर्मालगायतको सहभागिता रहेको थियो।
तीन दशकभन्दा लामो निजामती सेवापछि अवकाश लिन लाग्नुभएका निवर्तमान मुख्यसचिव अर्यालले देश र जनताको सेवा गर्ने अवसर पाएकामा खुसी व्यक्त गर्नुभयो। उहाँले ‘जेनजी’ आन्दोलनपछिको संवेदनशील परिस्थितिमा मुख्यसचिवको जिम्मेवारी चुनौतीपूर्ण रहे पनि राजनीतिक नेतृत्व, प्रधानमन्त्रीका सल्लाहकार, संवैधानिक आयोग, निजामती कर्मचारी तथा सुरक्षा निकायको सहयोगले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न सकेको बताउनुभयो।
कार्यक्रममा प्रधानमन्त्री शाहका तर्फबाट राजनीतिक सल्लाहकार असिम शाहले अर्याललाई कदरपत्र प्रदान गर्नुभयो। उहाँले राजनीतिक सरकार अस्थायी भए पनि कर्मचारीतन्त्र स्थायी सरकार भएकाले मुलुक सञ्चालनमा यसको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। कर्मचारीको मूल्याङ्कन कामका आधारमा हुने स्पष्ट पार्दै अर्यालको अनुभव र ज्ञानलाई सरकारले आगामी दिनमा पनि उपयोग गर्ने तथा नवनियुक्त मुख्यसचिव कार्कीको नेतृत्वमा निजामती प्रशासन अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो।
नवनियुक्त मुख्यसचिव कार्कीले आफ्नो जिम्मेवारी इमानदारी, निष्पक्षता र उत्तरदायित्वका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सरकारले अघि बढाएका निजामती सेवा सुधारसम्बन्धी नीतिहरूलाई सार्वजनिक प्रशासन र राष्ट्रको हितमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न आफू दृढ रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा प्रधानमन्त्रीको स्वकीय सचिवालय, विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारीहरूले निवर्तमान मुख्यसचिव अर्यालको योगदानप्रति आभार व्यक्त गर्दै नवनियुक्त मुख्यसचिव कार्कीलाई सफल कार्यकालको शुभकामना दिएका थिए।