काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाले सोमबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको करिब आधा घण्टाको भेटमा नेपाल सरकार र एडीबीबीच विगत ६ दशकदेखि कायम विकास साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको हो। दुवै पक्षले पारस्परिक सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले सुशासन, पारदर्शिता र प्रभावकारी कार्यसम्पादनमार्फत नेपालले विकासमा नयाँ फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो।
भेटमा जलविद्युत् र पर्यटनलाई नेपालको अर्थतन्त्रको प्रमुख आधारका रूपमा अघि बढाउने, डिजिटलाइजेसनलाई प्रवर्द्धन गर्ने तथा पर्यटकीय सडक पूर्वाधार विकासमा सहकार्य विस्तार गर्ने विषयमा पनि सकारात्मक छलफल भएको थियो।
त्यसैगरी, एडीबी अध्यक्ष कान्डाले नेपालमा विकास सहयोगलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालको आर्थिक विकास र समृद्धिका लागि एडीबी दीर्घकालीन विकास साझेदारका रूपमा निरन्तर साथ रहने बताउनुभयो।
उहाँले नेपालको अर्थतन्त्रमा रहेको सम्भावना, बलियो जनादेश र युवा नेतृत्वको प्रशंसा गर्दै सुधारप्रतिको प्रतिबद्धता प्रेरणादायी रहेको उल्लेख गर्नुभयो। साथै, नेपालको विकास यात्रामा एडीबीको सहयोग निरन्तर रहने प्रतिबद्धता पनि दोहोर्याउनुभयो।