काठमाडौं । नेपाली कांग्रेसले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार र सहभागिताका विषयमा पार्टी प्रतिबद्ध रहेको जनाएको छ। कांग्रेस महामन्त्री गुरुराज घिमिरेले उक्त समुदायका सदस्यहरूलाई पार्टीमा स्वागत गर्दै उनीहरूका माग र समस्यालाई संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
राष्ट्रिय लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासंघमा आबद्ध मायाको पहिचान नेपालको पहलमा आयोजित कार्यक्रममा समुदायका सदस्यहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।
पार्टी प्रवेश कार्यक्रममा महामन्त्री घिमिरेले कांग्रेसको सदस्य बनेसँगै समुदायका सदस्यहरू पार्टी परिवारको हिस्सा बनेको बताए। उनले पार्टीले उनीहरूलाई राजनीतिक पहिचान दिनुका साथै संगठनमा सक्रिय हुने अवसरसमेत प्रदान गर्ने धारणा राखे।
उनका अनुसार पार्टीमा प्रवेश गरेपछि आफ्ना विषय र मागहरू पार्टीभित्र राख्ने, नेताहरूसँग समन्वय गर्ने तथा पार्टीका गतिविधिमा सक्रिय सहभागिता जनाउने जिम्मेवारीसमेत समुदायका सदस्यहरूको हुनेछ।
कार्यक्रममा पहिलो संविधानसभाका सदस्य तथा मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तको नेतृत्वमा कांग्रेस सभापति गगनकुमार थापालाई सम्बोधन गरिएको मागपत्र महामन्त्री घिमिरेलाई हस्तान्तरण गरिएको थियो।
मागपत्र बुझ्दै महामन्त्री घिमिरेले उक्त मागपत्र पार्टी सभापति तथा पार्टीको संस्थागत संरचनासमक्ष प्रस्तुत गर्ने बताए। उनले समुदायका सदस्यहरूले राखेका मागका विषयमा सभापतिसँग आफूले यसअघि नै कुराकानी गरिसकेको जानकारीसमेत दिए।
घिमिरेले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई पर्ने समस्या र उनीहरूले अघि बढाउने अभियानमा पार्टीको साथ रहने बताए। पार्टी पदाधिकारीका रूपमा आफूले पनि उनीहरूका समस्या र मागलाई सम्बन्धित तहमा पुर्याउन पहल गर्ने उनको भनाइ थियो।
कार्यक्रममा महामन्त्री घिमिरेले नेपाली कांग्रेसमा प्रवेश गर्ने निर्णय गरेकोमा समुदायका सदस्यहरूलाई स्वागत गर्दै नेपालको लोकतान्त्रिक तथा गणतान्त्रिक व्यवस्थाले विभिन्न समुदायलाई आफ्नो पहिचानसहित खुलेर अघि बढ्ने वातावरण निर्माण गरेको बताए।
उनले नेपाली समाजमा लामो समयदेखि दबिएर रहेका विभिन्न पहिचान र समुदाय क्रमशः सार्वजनिक रूपमा संगठित हुँदै आएको उल्लेख गरे। सामाजिक तथा मानसिक अवरोधहरू क्रमशः हट्दै गएको र लोकतान्त्रिक व्यवस्थाले त्यसलाई थप सहज बनाएको उनको भनाइ थियो।
घिमिरेले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकारका क्षेत्रमा विभिन्न संस्थाले गरिरहेको कामको प्रशंसा गर्दै ब्लु डायमन्ड सोसाइटीलगायत संस्थाले समाजमा महत्वपूर्ण योगदान गरेको बताए। सुनिलबाबु पन्तदेखि भूमिका श्रेष्ठसम्मका व्यक्तित्वले यस समुदायको पहिचान स्थापित गर्न योगदान दिएको उनले उल्लेख गरे।
कार्यक्रममा सुनिलबाबु पन्तले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको राजनीतिक प्रतिनिधित्व बढाउन कांग्रेससमक्ष विभिन्न माग राखेका थिए।
पन्तले कांग्रेसको केन्द्रीय कार्यसमितिमा कम्तीमा एक जना लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरे। साथै आगामी महाधिवेशनमा कम्तीमा पाँच जना समुदायका सदस्यलाई महाधिवेशन प्रतिनिधि बनाउने व्यवस्था गर्न पनि उनले आग्रह गरे।
प्रदेश, जिल्ला, क्षेत्र तथा स्थानीय तहका पार्टी संरचनामा समेत उक्त समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने पन्तको माग थियो।
उनले समुदायका सदस्यहरूलाई राजनीतिक रूपमा सक्षम बनाउन युरोपियन युनियनको सहयोगमा राजनीतिक साक्षरता कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका तथा निर्वाचन आयोगका काम र भूमिकाबारे समुदायका सदस्यहरूलाई प्रशिक्षण दिइरहेको उनले बताए।
पन्तले पार्टीमा प्रवेश गरेका समुदायका सदस्यलाई जिम्मेवारी दिएर राजनीतिक गतिविधिमा सक्रिय गराउन पनि कांग्रेस नेतृत्वसँग आग्रह गरे।
उनका अनुसार स्थानीय तहदेखि नै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई नीतिगत निर्णय प्रक्रियामा समावेश गर्ने वातावरण बने त्यसले व्यापक राजनीतिक सहभागिताको आधार तयार गर्नेछ।
मायाको पहिचान नेपालले कांग्रेससमक्ष आगामी महाधिवेशनमा कम्तीमा पाँच जना लैङ्गिक तथा यौनिक अल्पसंख्यक सदस्यलाई महाधिवेशन प्रतिनिधिका रूपमा सुनिश्चित गर्न माग गरेको छ।
त्यस्तै, कांग्रेस केन्द्रीय कार्यसमितिमा कम्तीमा एक जना लैङ्गिक तथा यौनिक अल्पसंख्यक सदस्यको प्रतिनिधित्व सुनिश्चित गर्न तथा पार्टीको विधान र समावेशी प्रतिनिधित्वसम्बन्धी नीतिमा उक्त समुदायका लागि स्पष्ट एवं संस्थागत व्यवस्था गर्न माग गरिएको छ।
पार्टीका प्रदेश, जिल्ला, क्षेत्र र स्थानीय तहका सबै संरचनामा समेत लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको समानुपातिक, अर्थपूर्ण र समावेशी सहभागिताका लागि आवश्यक व्यवस्था गर्न संस्थाले कांग्रेस नेतृत्वसँग आग्रह गरेको छ।