सनवेयन्स इनोभेसन फेस्ट २०२६ सम्पन्न: एआई, रोबोटिक्स र नवप्रवर्तनमा ५ हजारभन्दा बढीको सहभागिता

hitkhabar.com


काठमाडौं । कृत्रिम बौद्धिकता (एआई), रोबोटिक्स, ड्रोन प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भव्य रूपमा सम्पन्न भएको छ।

सनवे कलेजको आयोजनामा सम्पन्न उक्त फेस्टमा ५० भन्दा बढी इन्नोभेसनको प्रदर्शनी तथा प्रतिस्पर्धा गरिएको थियो। साथै एआई, ड्रोन र रोबोटिक्ससँग सम्बन्धित प्यानल छलफल, कार्यशाला (वर्कशप) तथा राउन्डटेबल संवाद पनि सञ्चालन गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार फेस्टमा शिक्षा, प्रविधि, उद्योग, अनुसन्धान, नवप्रवर्तन तथा स्टार्टअप क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो भने प्रदर्शनी अवलोकन गर्न ५ हजारभन्दा बढी दर्शक पुगेका थिए। कार्यक्रमको मुख्य उद्देश्य ज्ञान आदान–प्रदान, सीप विकास, सहकार्य र नवप्रवर्तनको संस्कृति प्रवर्द्धन गर्नुका साथै एआई तथा उदीयमान प्रविधिबारे प्रत्यक्ष अनुभव उपलब्ध गराउनु रहेको बताइएको छ।

कम्प्युटर वैज्ञानिक मुनि बहादुर शाक्यले उद्घाटन गरेको कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, पूर्वमन्त्री गणेश शाह, सफ्टएड ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठलगायतले नवप्रवर्तनको प्रवर्द्धनमा सनवे कलेजले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपालमा बलियो इन्नोभेसन इकोसिस्टम निर्माणका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।

उद्घाटन समारोहमा बोल्दै सनवे कलेजका निर्देशक खुशल रेग्मीले नवप्रवर्तन समस्या पहिचान गरी समाधान खोज्ने सोचबाट सुरु हुने उल्लेख गर्दै शिक्षा केवल नयाँ प्रविधिको प्रयोगमा सीमित नरही प्रविधि सिर्जना गर्ने आधार बन्नुपर्नेमा जोड दिएका थिए।

फेस्टमा एआई, रोबोटिक्स, ड्रोन प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा करिअर विकाससँग सम्बन्धित विभिन्न प्राविधिक सत्र, कार्यशाला, प्यानल छलफल, प्रतियोगिता, प्रदर्शनी तथा विद्यार्थी नवप्रवर्तन प्रदर्शन आयोजना गरिएको थियो। सहभागीहरूले अत्याधुनिक प्रविधिको प्रत्यक्ष अवलोकनसँगै प्रयोगात्मक अभ्यास गर्ने अवसर पनि प्राप्त गरेका थिए।

कार्यक्रमको विशेष प्यानल सेसन ‘नेपाल इन द इरा अफ फिजिकल एआई’ विषयमा राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. सुदन झाले मुख्य प्रस्तुति दिएका थिए। उनले नेपाल सरकारले एआई कम्प्युटिङ र नवप्रवर्तनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै आगामी समय ‘फिजिकल एआई’को प्रभाव अझ बढ्ने बताएका थिए।

यस्तै काठमाडौं विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङका एसोसिएट डिन प्रा. डा. बालकृष्ण बल, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सल्लाहकार सञ्जय पौडेल, बडी एन्ड डाटाका प्रमुख कार्यकारी अधिकृत डा. दोभान राई तथा कोलोराडो विश्वविद्यालयका अनुसन्धान फेलो डा. निरज पुडासैनीले नेपालमा एआईको विकास, नीति, अनुसन्धान, साइबर सुरक्षा, डाटा गोपनीयता तथा उद्योग–शिक्षा सहकार्यका विषयमा आ–आफ्ना धारणा राखेका थिए।

फेस्टका प्रमुख आकर्षणमा रोबोटिक्स तथा ड्रोन वर्कशप, भाइब कोडिङ प्रतियोगिता, ‘एआई इन जर्नालिजम’, ‘एआई फर प्रोडक्टिभिटी’ तथा ‘एआई टक सिरिज’ रहेका थिए। ती सत्रमा पत्रकारिता, स्वास्थ्य, शिक्षा, उद्योग, बौद्धिक सम्पत्ति, डाटा गोपनीयता तथा दैनिक जीवनमा एआईको प्रयोगका अवसर र चुनौतीबारे विशेषज्ञहरूले अनुभव र विचार साझा गरेका थिए।

फेस्टअन्तर्गत ३० भन्दा बढी उद्योग तथा संस्थाको सहभागितामा करिअर एक्स्पो र मोक इन्टरभ्यु सत्र पनि सञ्चालन गरिएको थियो। विद्यार्थीहरूले विभिन्न कम्पनीका मानव स्रोत विज्ञसँग प्रत्यक्ष अन्तर्वार्ता दिँदै रोजगारीका अवसर, करिअर योजना तथा व्यावसायिक तयारीबारे उपयोगी अनुभव हासिल गरेका थिए।

कार्यक्रममा १५ भन्दा बढी कम्युनिटी पार्टनरको सहकार्य रहेको थियो। गेमिङ जोन, फुड स्टल, फोटो बुथ तथा अन्तरक्रियात्मक प्रविधि प्रदर्शनले सहभागीलाई सिकाइसँगै मनोरञ्जनात्मक अनुभव पनि प्रदान गरेको आयोजकले जनाएको छ।

फेस्टमा यान्ट्रा एक्सले नेपालमा रोबोटिक्स तथा फिजिकल एआईको सम्भावना र अन्तर्राष्ट्रिय अवसरबारे विशेष प्रस्तुति दिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीलाई प्रविधिको प्रयोगकर्ता मात्र नभई प्रविधि निर्माणकर्ताको भूमिकामा अघि बढ्न प्रेरित गर्ने वातावरण सिर्जना गरेको छ।

प्रतियोगिताका उत्कृष्ट टोलीलाई विभिन्न संस्थाले पुरस्कार तथा प्रोत्साहन प्रदान गरेका थिए। एनसेलले उत्कृष्ट तीन टोलीलाई डेटा र भ्वाइसको अनलिमिटेड प्याकेज उपलब्ध गराएको थियो भने खल्तीले ११ टोलीलाई प्रति समूह ५ हजार रुपैयाँ बराबरको विशेष प्याकेज प्रदान गरेको थियो। त्यसैगरी यति क्लाउड डट एआईले ११ टोलीलाई ६ महिनाका लागि निःशुल्क एआई क्लाउड होस्टिङ सेवा उपलब्ध गराएको थियो। ONE BNPLले ‘पब्लिक च्वाइस अवार्ड’ विजेता टोलीलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको थियो।

सनवे कलेजका अनुसार ‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ ले नेपालमा एआई, रोबोटिक्स, अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताको इकोसिस्टम सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। विद्यार्थी, उद्योग, अनुसन्धानकर्ता तथा नीति निर्माण तहबीच सहकार्यको पुल निर्माण गर्दै नेपालको डिजिटल भविष्यतर्फ सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

प्रतिक्रिया