काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीस्थित सडकखण्डमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सिम्ताबाट गुमीतर्फ जाँदै गरेको क.प्र. ०२००१ ख ०४९० नम्बरको फोर्स गाडी बुधबार अनियन्त्रित भई सडकमै पल्टिएको हो। गाडी गुर्भाकोट नगरपालिका–१३ का करिब ४३ वर्षीय गगन थापाले चलाइरहेका थिए। गाडीमा चालकसहित २० जना सवार रहेकामा चालकबाहेक १९ जना घाइते भएका हुन्।
घाइतेहरूको उद्धार गरी कर्णाली प्रदेश अस्पताल, कर्णाली केयर अस्पताल, माया अस्पताल तथा मेहेलकुना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये गणेश वली, पाँच वर्षीय रियाज शाही र भावना राईको अवस्था गम्भीर रहेको छ।
अन्य घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको जनाइएको छ। उनीहरूको टाउको, हात, खुट्टा, ढाड तथा शरीरका विभिन्न भागमा चोट लागेको छ।
दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको प्रहरीले जनाएको छ। चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।