काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बहुमत प्राप्त गराउन सबै जातजाति र समुदायको साथ आवश्यक रहेको बताएका छन् ।
आज (सोमबार) नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले आयोजना गरेको कार्यक्रममा उनले सबैको समर्थन जुट्न सके कांग्रेस बहुमत प्राप्त गर्ने पार्टी बन्न सक्ने धारणा राखे ।
पुस्तकालय स्थापना तथा सञ्चालनमा सहयोग गर्ने दाताहरुलाई सम्मानपत्र वितरण गर्न आयोजित कार्यक्रममा बोल्दै देउवाले पुस्तकालयको भूमिकालाई पनि पार्टी निर्माणमा महत्वपूर्ण बताउँदै भने, “नेपालमा कांग्रेस एउटा ठूलो पार्टीका रूपमा त छँदैछ, तर सबै जातजाति र समुदायको समर्थन पाए बहुमत प्राप्त गर्ने पार्टी पनि बन्न सक्छौं ।”
उनले वर्तमान समावेशी व्यवस्थामा सबै समुदायको प्रतिनिधित्वको खाँचो औंल्याउँदै कांग्रेसले त्यसअनुसार रणनीति बनाउनु पर्ने बताए । “समानुपातिक समावेशीतामा आधारित अहिलेको व्यवस्थाले सबैलाई समेट्न खोजेको छ,” उनले भने, “त्यसअनुसार समर्थन प्राप्त गर्न सके कांग्रेस बलियो पार्टी बन्न सक्छ ।”
पार्टीको आदर्श र सिद्धान्त बुझाउन पुस्तकालयमार्फत ठूलो योगदान पुग्ने उल्लेख गर्दै देउवाले त्यहाँ रहेका पुस्तकहरूलाई अत्यन्तै बहुमूल्य बताए । “पुस्तकालयमा रहेका किताबहरूबाट पार्टीको विचार, आदर्श र सिद्धान्त जनतामा पुर्याउन सकिन्छ,” देउवाले भने ।
कार्यक्रममा पार्टीका अन्य नेताहरूको समेत उपस्थिति रहेको थियो ।