आजको मौसम : देशका यी भूभागहरूमा वर्षा र हिमपातको सम्भावना

hitkhabar.com


काठमाडौं । देशमा पश्चिमी वायुको सक्रियता, अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभावका कारण आज देशभर मौसम बदली हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, आज बिहान देशभर सामान्यतया बदली रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षासहित हिमपात भइरहेको छ भने बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात भइरहेको जानकारी दिइएको छ ।

दिउँसोतिर कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका अन्य पहाडी भूभागमा अधिकांश ठाउँमा आकाश बदली रहनेछ । तराई भूभागमा सामान्यतया बदली रहने अनुमान गरिएको छ । कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भूभागमा मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात हुने अनुमान गरिएको छ ।

आज राति पनि देशका अधिकांश भागमा बदली रहने विभागले जनाएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा र बाँकी पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा मध्यम हिमपात हुने सम्भावना छ भने कोशी, बागमती र गण्डकी प्रदेशका केही उच्च स्थानमा भारी हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ ।

यस्तै, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको भन्दै विभागले सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया