राहत शिक्षकका दुई समिति एकीकृत, माग सम्बोधन नभए आन्दोलनको चेतावनी

hitkhabar.com


काठमाडौं । राहत शिक्षकका दुई संगठन नेपाल राहत शिक्षक केन्द्रीय समिति र नेपाल राहत शिक्षक राष्ट्रिय समिति एकीकृत भएका छन्। काठमाडौंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत दुवै समितिले एकताको घोषणा गर्दै देशभरका राहत शिक्षक तथा कर्मचारीका साझा माग पूरा नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष बिरेन्द्र मल्लले दुवै संगठनका माग र मुद्दा समान भएकाले एकताबद्ध भएर अघि बढ्ने निर्णय गरिएको बताए। विगतमा नेपाल शिक्षक महासंघको नेतृत्वमा भएको आन्दोलनबाट पनि आफ्ना माग पूर्ण रूपमा सम्बोधन हुन नसकेको उल्लेख गर्दै उनले अहिले महासंघमार्फत सरकारसँग माग पूरा गराउने प्रयास भइरहेको जानकारी दिए।

उनले महासंघमार्फत समाधान नभए आन्दोलनको पहल गरिने र आवश्यक परे राहत शिक्षक केन्द्रीय समितिले एक्लै भए पनि आन्दोलनका कार्यक्रम घोषणा गर्ने स्पष्ट पारे।

समितिले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागी गराउने, उमेर हद कटेका शिक्षकका लागि उचित आर्थिक प्याकेजको व्यवस्था गर्ने तथा १५ वर्षभन्दा बढी सेवा गरेका शिक्षकलाई सामाजिक सुरक्षा र पेशागत वृत्तिविकासमा प्रतिस्पर्धा गर्ने अवसर उपलब्ध गराउनुपर्ने माग अघि सारेको छ।

एकता प्रक्रियामा सहभागी नेपाल राहत शिक्षक राष्ट्रिय समितिका नेता लालबहादुर श्रेष्ठले देशभरका राहत शिक्षक तथा कर्मचारीका समस्या र माग समान रहेकाले छुट्टाछुट्टै संघर्ष गर्नु प्रभावकारी नहुने बताए। सबैलाई एउटै छातामुनि ल्याएर अधिकारका लागि संयुक्त रूपमा आवाज उठाउने उद्देश्यले एकता गरिएको उनको भनाइ छ।

श्रेष्ठले सरकारले ट्रेड युनियन अधिकार कमजोर पार्ने प्रयास गरेको आरोप लगाउँदै त्यसविरुद्ध पनि निकट भविष्यमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनी दिए।

वार्ता टोलीका संयोजक कृष्णराज विष्टले देशभर रहेका करिब एक लाख ५० हजार राहत शिक्षक तथा कर्मचारीका समस्या समाधानका लागि राज्यले गम्भीर ध्यान दिनुपर्ने बताए। उनका अनुसार देशभर करिब ४० हजार राहत शिक्षक, ६ हजार उच्च माध्यमिक तहका शिक्षक, ३६ हजार विद्यालय कर्मचारी, १४ हजार शिक्षण सिकाइ अनुदानका शिक्षक तथा करिब ३० हजार बालविकास र संघीय तथा प्रदेश अनुदानमा कार्यरत जनशक्ति रहेका छन्।

राहत शिक्षक केन्द्रीय समितिका उपमहासचिव राजीव भट्टराईले अधिकार सुनिश्चित गर्न सबै राहत शिक्षक र कर्मचारी एकताबद्ध हुनुपर्नेमा जोड दिए।

एकीकृत समितिका अनुसार नेपाल राहत शिक्षक राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष विष्णुमाया तिमल्सिना, उपमहासचिव कृष्णप्रसाद अधिकारी, सचिवालय सदस्य विरेन्द्रराज गिरीसहित स्थायी समिति, सचिवालय, केन्द्रीय तथा जिल्ला समितिका अधिकांश पदाधिकारी नेपाल राहत शिक्षक केन्द्रीय समितिमा समाहित भएका छन्।

प्रतिक्रिया