काठमाडौं । नेपालमा आज ‘अभौतिक सांस्कृतिक सम्पदा राष्ट्रिय दिवस’ विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। यस अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरिएको छ।
आजकै ऐतिहासिक दिन अर्थात् वि.सं. २०६७ असार १ गते (सन् २०१० जुन १५) नेपालले युनेस्कोको ‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि–२००३’ मा हस्ताक्षर गर्दै यसको पक्ष राष्ट्र बनेको थियो।
नेपालको सांस्कृतिक पहिचानलाई जीवन्त राख्न पुर्खादेखि पुस्तान्तरण हुँदै आएका मौलिक चाडपर्व, जात्रा, रीतिरिवाज, परम्परागत सीप, कला, मौखिक परम्परा तथा सामाजिक अभ्यासहरूको महत्वपूर्ण भूमिका रहेको छ। यिनै सम्पदाहरूले नेपाली समाजको मौलिकता, विविधता र समृद्ध सांस्कृतिक पहिचानलाई विश्वसामु परिचित गराउँदै आएका छन्।
दैनिक जीवनसँग जोडिएका परम्परागत अभ्यास, सीप र संस्कृतिले नेपाली समाजको सभ्यता, इतिहास र जीवनशैलीलाई प्रतिबिम्बित गर्ने भएकाले यिनको संरक्षण, संवर्द्धन र पुस्तान्तरण आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।
अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणमा राज्य, स्थानीय समुदाय, सरोकारवाला निकाय तथा नागरिक सबैको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै यस दिवसले नेपाली संस्कृतिप्रति अपनत्व र जिम्मेवारीबोध बढाउने विश्वास गरिएको छ।
यस वर्षको दिवसले नेपाली समाजको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण गर्दै भावी पुस्तासम्म यसको निरन्तरता कायम राख्ने सन्देश दिएको छ।