तराई–मधेशमा खानेपानी अभाव, सरकारले चासो नदिएको सांसद प्रभु साहको आरोप

hitkhabar.com

 

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले तराई–मधेशमा देखिएको खानेपानी संकटप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकार र मन्त्रीहरूलाई तीव्र आलोचना गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद साहले मधेशका जनता सामान्य पानीको लागि संघर्षरत रहेको अवस्थामा मन्त्रीहरू भने विदेशबाट मिनरल वाटर मगाएर उपभोग गरिरहेको आरोप लगाए। “तराई मधेशमा खानेपानीको हाहाकार छ, अवस्था काकाकुल छ,” सांसद साहले भने, “पानी–पानी भनेर जनता थाकिसके, सुन्नेहरूको कान पाकिसक्यो, तर सरकारले अझै सुन्न सकेको छैन।”

साहले सोधेका थिए, “सरकार जनतालाई खानेपानी दिन चाहन्छ कि चाहँदैन? चाहन्छ भने कहिले दिने हो?” उनले प्रधानमन्त्री र मन्त्रीहरू विदेशी बोतलको पानी पिउँदा जनता भने सामान्य पिउने पानीको अभावमा छटपटिएको चित्र संसदमा प्रस्तुत गरे।

सांसद साहले मल अभावको विषय पनि संसदमा उठाए। “खानेपानी र मल दुबै सरकारको जिम्मेवारी हो, तर आजसम्म किसानले समयमै मल पाएका छैनन्,” उनले भने, “यसले खेतीपातीमा गम्भीर असर परेको छ र किसान निराश छन्।”

सांसद साहको भनाइले सरकारको जनउत्तरदायित्वप्रति प्रश्न उठाएको छ। मधेशका जनताले भोगिरहेको पानी संकट र कृषकहरूले भोगिरहेको मल संकट तत्काल सम्बोधन गर्न उनले सरकारलाई आग्रह गरे।

प्रतिक्रिया