कोशीमा मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

hitkhabar.com


काठमाडौं । हाल देशमा कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ भने अन्य भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भाग र कोशी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, कोशी प्रदेशका तराई क्षेत्रका केही स्थान, मधेश प्रदेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो दिनको अवस्था रहने सम्भावना रहेको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग तथा कोशी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। मधेश प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

रातिको समयमा कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। कोशी प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।

महाशाखाले कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा रातिको समयमा समेत भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया