काठमाडौं । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा शुक्रबार बिहान खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ।
प्रहरीका अनुसार शुक्रबार बिहान करिब १०ः३० बजे स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी ४०/४५ वर्षीया रेनु देवी जयसवालमाथि धारिलो हतियार (खुकुरी) प्रहार भएको थियो। गम्भीर घाइते भएकी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक जानकारीअनुसार बाराको करैयामाई गाउँपालिका–८ इटहर बेलाही टोल घर भई हाल रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुरमा बस्दै आएका अन्दाजी ३५ वर्षीय उपेन्द्र साह कलवारले खुकुरी प्रहार गरेका हुन्।
घटनापछि आक्रोशित स्थानीयवासीले उपेन्द्रमाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भएका उनको चन्द्रपुर अस्पताल, चन्द्रनिगाहपुरमा उपचार भइरहेको छ।
प्रहरीले घटनाको कारण अझै खुल्न बाँकी रहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।