काठमाडौं । सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमै बसेर गुणस्तरीय शिक्षा हासिल गर्न सकिने प्रशस्त सम्भावना रहेको बताएका छन् ।
आज (शनिबार) राजधानीमा आयोजित एसईई सम्मान समारोहमा बोल्दै मन्त्री सिंहले देशमै रहेका अवसरको सदुपयोग गर्नुपर्नेमा जोड दिए । उनले विदेश जाने सोचभन्दा पनि नेपालमै रहेका स्रोतसाधन र अवसरको पहिचान गरी त्यसलाई सदुपयोग गर्नुपर्ने धारणा राखे ।
‘नेपालमै बसेर राम्रो शिक्षा प्राप्त गर्ने अवसर छ,’ मन्त्री सिंहले भने, ‘हामीसँग भएको अवसरलाई सदुपयोग गर्न जान्नु पर्छ । भएको कुरा केही होइन र हुँदै नभएको कुराको पछि लागेर हामीले के पाउने रु नेपालमा प्रशस्त सम्भावनाहरु छन् ।’
उनले पछिल्लो समय नेपालमा केही हुदैन भन्ने नकारात्मक सोच व्यापक हुँदै गएको भन्दै त्यसविरुद्ध सबै मिलेर प्रतिवाद गर्नुपर्ने आवश्यकता औंल्याए ।
‘अहिले नेपालमा केही हुदैन भन्ने भ्रम फैलाउने दुस्प्रयास भइरहेको छ,’ सिंहले भने, ‘तर, हामी सबैले मिलेर नेपाललाई विकासको बाटोमा अघि बढाउनुपर्छ। सुरुमा नै निराश भएर केही हुदैन भन्ने गलत धारणा बनाउनु हुँदैन ।’
उनले विद्यार्थीहरूलाई लक्ष्यप्रति केन्द्रित भई निरन्तर मिहिनेत गर्न आग्रह गर्दै भने, ‘इच्छाशक्ति र परिश्रम भए असम्भव भन्ने केही हुँदैन । मेहनत गर्नुहोस्, देशमै धेरै सम्भावनाहरू छन् ।’