देशभर मनसुनी प्रभाव कायम: कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

hitkhabar.com


काठमाडौं । देशभर अहिले मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्यतया बदली रहनेछ भने कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

देशका हिमाली भू-भागका केही स्थान तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, हिमाली उच्च भू-भागमा हल्का हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ।

त्यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

मौसमविद्का अनुसार कर्णाली प्रदेशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

विभागले भारी वर्षा हुन सक्ने क्षेत्रका नदी–नाला आसपास, पहिरोको जोखिम भएका स्थान तथा सडक यात्रामा विशेष सावधानी अपनाउन पनि अनुरोध गरेको छ।

प्रतिक्रिया