काठमाडौं । हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायम रहेको छ। जसका कारण आजको मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने पहाडी तथा तराई क्षेत्रहरूमा आंशिक बदली रहने सम्भावना रहेको छ।
कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ। त्यस्तै, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि यस्तै प्रकारको मौसम गतिविधि देखिन सक्ने महाशाखाले जनाएको छ।
विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। बदलिँदो मौसमका कारण दैनिक जनजीवनमा सामान्य प्रभाव पर्न सक्ने अनुमान गरिएको छ।
01 Apr 2026