काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले शानदार सुरुआत गरेको छ । बुधबार भएको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रनको योगफल बनायो । नेपालका ओपनर कुशल भुर्तेलले ५६ बलमा ६६ रनको दमदार प्रदर्शन गरे । त्यसैगरी गुल्सन झाले ६ बलमा २० रन थपे भने कप्तान रोहित पौडेलले १६ रनको योगदान दिए ।
१४२ रनको लक्ष्य पछ्याएको कुवेत १८ ओभर १ बलमा ८३ रनमै समेटियो । बलिङतर्फ कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले समान २–२ विकेट लिए भने नन्दन यादव, कुशल भुर्तेल र सोमपाल कामीले एक–एक विकेट हात पारे ।
कुवेतका बलर नवीनराज राजेन्द्रन र अनुदीप चन्दमाराले समान २–२ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन् ।
नेपालले अब समूह चरणको अन्तिम खेल शुक्रबार जापानसँग खेल्नेछ ।