प्रधानमन्त्री शाहको दाबी : रुग्ण सरकारी उद्योगमा सुधारका संकेत, डीडीसीदेखि वायुसेवासम्म सकारात्मक नतिजा

hitkhabar.com


काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सरकारी स्वामित्वका वर्षौंदेखि रुग्ण अवस्थामा रहेका उद्योग तथा संस्थानहरूमा पछिल्लो समय सुधारका संकेत देखिन थालेको दाबी गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले इमान्दार नेतृत्व, कानुनको प्रभावकारी कार्यान्वयन र टिमवर्कका कारण केही संस्थानले सकारात्मक नतिजा दिन थालेको उल्लेख गरेका हुन्।

प्रधानमन्त्री शाहका अनुसार लामो समयदेखि घाटामा रहेको नेपाल औषधि लिमिटेड ले पछिल्ला चार महिनामा २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको छ। विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (GMP)’ मापदण्ड प्राप्त गरेपछि कम्पनीको उत्पादन र बिक्रीमा सुधार आएको र गत आर्थिक वर्षमा ३ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको उनले उल्लेख गरेका छन्।

उनका अनुसार चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ बराबरको औषधि बिक्री गर्ने लक्ष्य राखिएको छ। सरकारले तय गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअनुसार आगामी तीन वर्षभित्र ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य लिइएको छ। यसै वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने योजना रहेकामा २५ प्रकारका औषधिको उत्पादन तयारी अन्तिम चरणमा पुगेको र हाल ११ प्रकारका औषधि उत्पादन भइरहेको प्रधानमन्त्रीले जनाएका छन्।

यस्तै, लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रियामा रहेको प्रधानमन्त्री शाहले बताएका छन्। परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको र तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भई सीमित मात्रामा कपडा उत्पादन हुन थालेको उनले उल्लेख गरेका छन्। परीक्षण सफल भएपछि उद्योग नेपाल सरकारकै व्यवस्थापनमा सञ्चालन गरिने तयारी रहेको पनि उनले बताएका छन्।

नेपाल वायुसेवा निगम को कार्यसम्पादनमा पनि सुधार देखिएको प्रधानमन्त्री शाहको दाबी छ। उनका अनुसार गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँले बढी हो। यस अवधिमा नेपाल एयरलाइन्सको सिट उपयोग दर ८६ प्रतिशत पुगेको, जुन अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतले बढी रहेको उनले उल्लेख गरेका छन्। साथै कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका लागि लिइएको ऋणमध्ये १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्ता पनि यही अवधिमा भुक्तानी गरिएको उनको भनाइ छ।

प्रधानमन्त्री शाहले दुग्ध विकास संस्थान (डीडीसी) मा पनि सुधार देखिएको बताएका छन्। उनका अनुसार किसानको दूध बक्यौता भुक्तानी चक्र आठ महिनाबाट घटाएर दुईदेखि तीन महिनामा सीमित गरिएको छ। किसानलाई प्रतिलिटर दूधमा १ रुपैयाँ प्रोत्साहन रकम थप गरिएको तथा सुधारका प्रयासपछि दैनिक बिक्री ३५ प्रतिशतले बढेर औसत दैनिक राजस्व ६० लाख रुपैयाँबाट ९० लाख रुपैयाँ पुगेको उनले उल्लेख गरेका छन्। कानुनविपरीत वितरण हुँदै आएको घ्यू र दूध सुविधा कटौती गर्दा वार्षिक करिब ३ करोड रुपैयाँ बचत भएको र निकट भविष्यमा खाडी मुलुकमा घ्यू तथा चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी भइरहेको जानकारी पनि उनले दिएका छन्। नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः सुरु गर्ने तयारीसमेत भइरहेको उनले उल्लेख गरेका छन्।

त्यसैगरी सिंहदरबार वैद्यखाना विकास समिति ले सरकार गठनपछि ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन तथा बजारीकरण गरेको प्रधानमन्त्री शाहले जनाएका छन्। उनका अनुसार गत आर्थिक वर्षमा संस्थाको औषधि कारोबार करिब १३ करोड रुपैयाँ पुगेको, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढी हो। हाल १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेको र चालु आर्थिक वर्षभित्र १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य राखिएको उनले उल्लेख गरेका छन्। साथै निःशुल्क वितरण हुने ३५ प्रकारका औषधिमा आत्मनिर्भर बन्ने, पाउडर तथा ट्याब्लेट औषधिमा ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (GMP)’ मापदण्ड हासिल गर्ने तथा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्यसमेत रहेको उनले बताएका छन्।

प्रधानमन्त्री शाहले इमान्दारिता, जिम्मेवारीबोध र देशप्रतिको समर्पण कायम रहे अन्य रुग्ण सरकारी उद्योग तथा संस्थानलाई पनि पुनर्जीवित गर्न सकिने विश्वास व्यक्त गरेका छन्। उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणको यात्रामा सबै पक्षको रचनात्मक सहयोग, विश्वास र साथ आवश्यक रहेको उनको भनाइ छ।

प्रतिक्रिया