प्रधानमन्त्री शाहसँग भारतीय विदेश सचिव मिस्रीको भेट, भारत भ्रमणको तयारी तीव्र

hitkhabar.com


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य तथा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलगायत विषयमा छलफल भएको हो।

भेटका क्रममा प्रधानमन्त्री शाहले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि भारत सरकारले तत्काल राहत सामग्री उपलब्ध गराउनुका साथै उद्धार टोली परिचालन गरेर पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो।

त्यस्तै, विपद्का बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनमार्फत सहयोग र ऐक्यबद्धता व्यक्त गर्नुभएकोमा पनि प्रधानमन्त्री शाहले धन्यवाद दिनुभयो।

प्रधानमन्त्री शाहले नेपालको खेलकुद क्षेत्रको विकासका लागि भारतसँग गर्न सकिने सहकार्यका विषयमा समेत चासो व्यक्त गर्नुभएको थियो।

भेटमा भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई सफल बनाउन भारत सरकारले तयारी तीव्र पारेको जानकारी गराउनुभयो। उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाउँदै प्रधानमन्त्री शाहको भारत भ्रमणलाई विशेष महत्वका साथ हेरिएको बताउनुभयो।

यसैगरी, ऊर्जा, जलस्रोत, व्यापार तथा पारवहन र उड्डयन क्षेत्रसँग सम्बन्धित नेपाल–भारत द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको विषयमा पनि मिस्रीले जानकारी गराउनुभयो।

भेटका क्रममा भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेल सेवा सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको जानकारीसमेत उहाँले दिनुभयो। उक्त रेलमार्गमा आजै परीक्षण सञ्चालन गरिएको विषय पनि भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहलाई अवगत गराउनुभएको थियो।

नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा भेटवार्ताका क्रममा छलफल भएको जनाइएको छ।

प्रतिक्रिया