काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले चालु आर्थिक वर्षमा सरकारका प्राथमिकता र निर्धारित उपलब्धि हासिल गर्ने गरी मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्रीहरूले प्रधानमन्त्री शाहसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्दै सम्झौताको प्रति आदानप्रदान गर्नुभएको हो।
सम्झौतामा सरकारका मुख्य प्राथमिकताका रूपमा सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्य तथा त्यसबाट हासिल गरिने उपलब्धिहरू समेटिएका छन्। चालु आर्थिक वर्षमा मन्त्रालयगत रूपमा गरिने मुख्य कामलाई प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यले कार्यसम्पादन सम्झौता गरिएको जनाइएको छ।
यसैबीच, प्रधानमन्त्री शाहसँग नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि कार्यसम्पादन सम्झौता गर्नुभएको छ।
सरकारले कार्यसम्पादन सम्झौतामार्फत मन्त्रालय तथा सम्बन्धित निकायका कामलाई स्पष्ट लक्ष्य, जिम्मेवारी र उपलब्धिसँग जोड्दै सेवा प्रवाह तथा सुशासनलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ।