जलवायु संकट न्यूनीकरणका लागि विश्वव्यापी युवा एकताको आवश्यकता

hitkhabar.com


काठमाडौं । बढ्दो कार्बन उत्सर्जन र जलवायु परिवर्तनका कारण नेपालसहित विश्वका विभिन्न मुलुकमा प्राकृतिक विपत्तिको जोखिम बढ्दै गएको भन्दै युवाहरूले जलवायु न्यायका लागि विश्वव्यापी पहल आवश्यक रहेको बताएका छन् ।

राजधानीमा बिहीबार आयोजित एक अन्तरक्रियामा सहभागी वक्ताहरूले विकसित तथा धनी राष्ट्रहरूको अत्यधिक कार्बन उत्सर्जनले नेपालजस्ता मुलुक बढी प्रभावित भइरहेको भन्दै जलवायुजन्य क्षतिबापत जिम्मेवार राष्ट्रहरूबाट क्षतिपूर्तिको माग गर्नुपर्ने धारणा राखे ।

क्रान्तिकारी युवा संघ नेपालले आयोजना गरेको ‘जलवायु संकट समाधानका लागि युवा पुस्ताको अभियान’ विषयक कार्यक्रममा जलवायु विज्ञ तथा युवा प्रतिनिधिहरूले पृथ्वीको संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिंह श्रीसले नाफा र विश्वव्यापी प्रभुत्वको प्रतिस्पर्धामा प्राकृतिक स्रोतको अत्यधिक दोहन भइरहेको आरोप लगाए । उनले कार्बन उत्सर्जनमा विकसित पुँजीवादी राष्ट्रहरूको ठूलो भूमिका रहेको दाबी गर्दै विद्यमान आर्थिक व्यवस्थाबाट प्रकृति संरक्षण सम्भव नहुने धारणा व्यक्त गरे ।

श्रीसले प्रकृति र मानवहितको संरक्षणका लागि वैज्ञानिक समाजवादी व्यवस्थाको आवश्यकता रहेको उल्लेख गर्दै त्यसका लागि संघर्ष गर्नुपर्ने बताए ।

क्रान्तिकारी युवा संघ नेपालका केन्द्रीय संयोजक दोर्ची शेर्पाले प्रस्तुत गरेको कार्यपत्रमा जलवायु न्यायलाई आर्थिक क्षतिपूर्ति वा लाभको विषयमा मात्र सीमित गर्न नहुने उल्लेख गरिएको थियो । जलवायु न्याय समानता, वातावरणीय संरक्षण, दिगो विकास, प्रकृतिप्रतिको जिम्मेवारी तथा भावी पुस्ताको अस्तित्वसँग प्रत्यक्ष जोडिएको विषय भएको उनको भनाइ थियो ।

वातावरण तथा जलवायु विज्ञ डा. विनोद भट्टले प्रकृति संरक्षण विश्वकै प्रमुख चुनौती बनेको बताए । जलवायु संकट न्यूनीकरणका लागि मानव जीवनशैलीमै आवश्यक परिवर्तन गर्नुपर्नेमा उनले जोड दिए ।

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा. मदन सिग्देलले जलवायु परिवर्तनले मानव अस्तित्वमै चुनौती थपिरहेको बताए । जलवायु परिवर्तनसम्बन्धी अध्ययन, अनुसन्धान तथा तयारीका लागि राज्यले पर्याप्त बजेट विनियोजन गर्न नसकेको उनको भनाइ थियो ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसका उपप्राध्यापक तथा भूगर्भविद् प्रकाशचन्द्र घिमिरेले जलवायु परिवर्तनको विषयलाई विद्यालय तथा विश्वविद्यालय तहको पाठ्यसामग्रीमै प्रभावकारी रूपमा समावेश गर्नुपर्ने बताए ।

संघका कार्यालय सदस्य झनक श्रेष्ठ र गोविन्द काफ्लेले जलवायु परिवर्तनबाट भइरहेको क्षति न्यूनीकरण तथा जलवायु न्यायका लागि विश्वभरका युवाहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखे ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महाराज गुरुङ, वाईसीएल नेपालका केन्द्रीय अध्यक्ष पुष्प ओली, युवा संगठन नेपालका नरेन्द्र सी, पिपुल्स फोर्सका अध्यक्ष जीवन्द्र निलगगन, वैज्ञानिक समाजवादी युवा लिगका हिमांशु, श्रम–संस्कृति युवा नेपालका प्रवक्ता रिवल बान्तवा राई तथा सुपर्णा लामालगायतले जलवायु न्यायको मुद्दामा साझा पहल र सहकार्य आवश्यक रहेको बताएका थिए ।

प्रतिक्रिया