काठमाडौं । प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत काठमाडौं महानगरपालिका–१२ मा सञ्चालित विभिन्न शैक्षिक, सांस्कृतिक तथा सम्पदा संरक्षणसम्बन्धी गतिविधिको स्थलगत अवलोकन गर्नुभएको छ।
अवलोकनका क्रममा सभामुख अर्यालले महेन्द्र सरस्वती विद्यालयमा सञ्चालन भइरहेको म्युजिक कक्षाको निरीक्षण गर्नुभएको थियो। त्यसैगरी टेकु दोभानदेखि हनुमानघाटसम्मको क्षेत्रको अवलोकन गर्दै स्थानीय पूर्वाधार तथा विकासका विषयमा जानकारी लिनुभएको थियो।
उहाँले लक्ष्मीश्वर महादेव मन्दिरमा सञ्चालन भइरहेको परम्परागत नृत्य कक्षाको समेत अवलोकन गर्नुभएको छ। साथै, नेपाली लोकबाजा सङ्ग्रहालय पुगेर त्यहाँ संरक्षण गरिएका परम्परागत लोकबाजाको अवस्थाबारे जानकारी लिनुभएको थियो।
कार्यक्रमकै क्रममा सभामुख अर्यालले पचली भैरव गुठी खलक, सम्बन्धित सरोकारवाला निकाय तथा स्थानीय जनप्रतिनिधिहरूसँग भेटघाट तथा छलफल गर्नुभएको थियो। छलफलमा क्षेत्रका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, स्थानीय विकासका योजना, पूर्वाधार सुधार तथा जनचासोका विविध विषयमा विचारविमर्श भएको जनाइएको छ।
सभामुख अर्यालले स्थानीय सम्पदा संरक्षणसँगै विकास निर्माणका कामलाई प्रभावकारी रूपमा अघि बढाउन आवश्यक समन्वय र सहकार्यमा जोड दिनुभएको बताइएको छ।