शान्ति प्रक्रिया टुंग्याउने विषय सरकारको उच्च प्राथमिकता : प्रधानमन्त्री ओली

hitkhabar.com


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरू सम्पन्न गरी शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद्हरूका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले द्वन्द्व पीडित, बेपत्ता र शहीदहरूको योगदानप्रति सरकारले सम्मानजनक दृष्टिकोण राखेको र उनीहरूलाई न्याय दिन आफूहरू प्रतिवद्ध रहेको बताएका हुन्।

उनले भने, ‘‘संविधानले निर्देशन गरेअनुसार शहीद, बेपत्ता र द्वन्द्व पीडितहरूको योगदान र बलिदानलाई कदर गर्ने विषयमा सरकार दृढ छ। पीडितलाई न्याय दिने विषयमा सरकार अत्यन्त जिम्मेवार र संवेदनशील छ।’’

प्रधानमन्त्री ओलीले शान्ति प्रक्रिया सबैको सरोकारको विषय भएकाले सरकार निरन्तर छलफल र संवादमा आधारित भएर अघि बढिरहेको स्पष्ट पारे।

उनका अनुसार, बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को आधारमा नै सम्बन्धित आयोगहरूको गठन भई कार्य प्रारम्भ भइसकेको छ। उनले विश्वास व्यक्त गर्दै भने, ‘‘आगामी दिनमा आयोगका पदाधिकारीहरूले पीडित पक्षसँग सहमति र छलफलका आधारमा शान्ति प्रक्रियाका बाँकी कामहरू अगाडि बढाउनु हुनेछ।’’

प्रधानमन्त्री ओलीले द्वन्द्व पीडितहरूसँग विभिन्न तहमा सरकारले निरन्तर संवाद गरिरहेको समेत जानकारी गराए।

प्रतिक्रिया