आज देशभर वर्षाको सम्भावना, कर्णाली–सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी

hitkhabar.com


काठमाडौं । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वतर्फ सरदर स्थान आसपास रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने सम्भावना छ। हिमाली तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा तथा मधेश र कोशी प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली प्रदेशको पहाडी क्षेत्र र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी एवं तराई भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा धेरै भारी वर्षा समेत हुन सक्ने पूर्वानुमान रहेकाले ती क्षेत्रमा सतर्कता अपनाउन आवश्यक देखिएको छ।

राति पनि वर्षाको सम्भावना

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

तराईका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

रातिको समयमा कोशी प्रदेशका पहाडी तथा तराई भू-भाग र बागमती प्रदेशको पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।

भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया