पश्चिमी वायुको प्रभाव : देशभर बदलीसँगै वर्षाको सम्भावना

hitkhabar.com


काठमाडौं । देशभर हाल पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू तथा तल्लो वायुमण्डलमा विकसित न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको मौसमविद्ले बताएका छन्। यसका कारण आज देशका विभिन्न भू-भागमा बदलीसँगै वर्षा र हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै, मधेश प्रदेश तथा अन्य पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा पनि वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ। तराईका केही स्थानमा हल्का वर्षा हुने सम्भावना पनि रहेको छ।

यस्तै, आज राति पनि मौसम पूर्ण रूपमा सुधार नहुने देखिएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली कायम रहने मौसमविद्को भनाइ छ।

रातिको समयमा पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा समेत वर्षा हुन सक्ने अनुमान गरिएको छ।

मौसमविद्ले मेघगर्जन, चट्याङ र वर्षाका कारण दैनिक जनजीवन तथा यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया