काठमाडौं । हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। यसका कारण आज देशका विभिन्न भू-भागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका हिमाली भू-भागमा सामान्यतया बदली रहनेछ। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा पनि आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहने सम्भावना छ।
गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानहरूमा तथा अन्य हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
यस्तै, देशका सबै प्रदेशका तराई क्षेत्रका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेको हुँदा सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसममा देखिएको यो परिवर्तनले दैनिक जनजीवनमा सामान्य प्रभाव पार्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।