आजको मौसम : केही स्थानमा मेघगर्जनसहित वर्षा र हिमपात हुने

hitkhabar.com


काठमाडौं । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले आज देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्ने र केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

देशका हिमाली भू-भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

राति तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

प्रतिक्रिया