पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी बढ्ने

hitkhabar.com


काठमाडौं । नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। यसका कारण देशका विभिन्न क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

यता मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिनको अवस्था कायम रहने पूर्वानुमान गरिएको छ।

आज राति हिमाली भू–भागमा सामान्य बदली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाको भनाइ छ। रातिको समयमा कोशी प्रदेशको हिमाली तथा पहाडी भू–भागका साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

महाशाखाले सम्भावित वर्षा, चट्याङ तथा तातो मौसमबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया