काठमाडौं । नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेकाले देशका विभिन्न क्षेत्रमा वर्षा र तातो मौसमको मिश्रित अवस्था रहने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य हिमाली र पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै मधेश प्रदेशसहित बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा मध्यम तातो लहरको अवस्था रहने सम्भावना छ। यस्तै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो दिन रहने अनुमान गरिएको छ।
आज राति कोशी प्रदेशसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका थोरै स्थान तथा अन्य प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमविद्हरूले मेघगर्जन, चट्याङ तथा तातो मौसमबाट हुन सक्ने जोखिमप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।