काठमाडौं । रसुवामा भोटेकोशी नदीमा आएको बाढीका कारण आसपासका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।
प्राधिकरणका अनुसार तिब्बततर्फबाट भोटेकोशी नदीमा ठूलो बाढी प्रवेश गरेकाले अर्को सूचना जारी नभएसम्म भोटेकोशी, त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने तथा आवतजावत गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको हो।
रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन र तनहुँ जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा जानसमेत प्राधिकरणले आग्रह गरेको छ। खोज तथा उद्धारको आवश्यकता परेमा वा कुनै सहायता माग्नुपर्ने अवस्था आएमा सम्बन्धित टोल फ्री नम्बरमा सम्पर्क गर्न भनिएको छ।
यसैगरी, पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेसी सडक तथा मुग्लिङ–नारायणगढ सडकमा यात्रा नगर्न र नगराउन प्राधिकरणले अनुरोध गरेको छ। ती सडकमा आवतजावतमा पूर्ण रोक लगाउन स्थानीय तह तथा प्रशासनलाई समेत आग्रह गरिएको छ।
विपद्को समयमा खोज, उद्धार तथा राहत कार्यमा समन्वय, सहयोग र सहजीकरण गर्नसमेत प्राधिकरणले सम्बन्धित निकायलाई अनुरोध गरेको छ।