काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेकाले देशभर मौसममा बदली रहनेछ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ भने पहाडी क्षेत्रका धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।
त्यसैगरी मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति पनि कोशी र मधेश प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराईका केही स्थान, कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका थोरै स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ।
महाशाखाले कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा रातिको समयमा पनि भारी वर्षाको सम्भावना रहेकाले नदी–नाला आसपासका बासिन्दा, यात्रु तथा सडक प्रयोगकर्तालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।