काठमाडौं । लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्रम खाँ रिहा भएका छन् । सोमबार राति पक्राउ परेका खाँ मंगलबार अपराह्न रिहा भएका हुन् ।
खाँको गिरफ्तारीपछि राष्ट्रिय जेनजी नागरिक अभियानले उनको रिहाइको माग गरेको थियो । मंगलबार काठमाडौंको संवाद डबलीमा आयोजित खबरदारी कार्यक्रममा अभियानका प्रतिनिधिहरूले खाँको गिरफ्तारीप्रति आपत्ति जनाउँदै आनीको नियुक्तिविरुद्धको आन्दोलन जारी राख्ने बताएका छन् ।
अभियानका प्रवक्ता विर्जन विश्वकर्माले खाँको गिरफ्तारीलाई गैरकानुनी र गैरन्यायिक भएको दाबी गरे । उनले खाँ रिहा भए पनि आनीको नियुक्तिसम्बन्धी विषयमा उठाइएका प्रश्न र माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताए ।
विश्वकर्माका अनुसार अभियानले आनीको नियुक्ति प्रक्रिया तथा उनीमाथि उठेका प्रश्न र विवादबारे स्पष्ट जवाफ माग्दै आएको छ । उनले सरकारले यस विषयमा जवाफ दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा जेनजी अभियन्ता सफलता बोगटीले आनीको नियुक्ति र उनीसँग सम्बन्धित विवादबारे स्पष्ट पार्नुपर्ने बताइन् । त्यस्तै, अभियन्ता रमेश रावतले आनीको नियुक्ति बदर नभएसम्म आन्दोलन जारी राख्ने बताए ।
अभियन्ता शुनिल विकले पनि आनीले आफ्नो जन्मस्थान तथा आफूमाथि लागेका आरोपबारे दिएको स्पष्टीकरणप्रति प्रश्न उठाएका थिए ।
कार्यक्रममा सहभागी अभियन्ताहरूले आनीको नियुक्तिसम्बन्धी विवादमा सम्बन्धित पक्षबाट स्पष्ट जवाफ आउनुपर्ने माग गरेका छन् । उनीहरूले खाँको रिहाइपछि पनि नियुक्तिसम्बन्धी विषयमा आफ्नो विरोध र खबरदारी जारी रहने बताएका छन् ।