काठमाडौं । हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई तथा अन्य भू–भागमा आंशिक बदली रहने सम्भावना छ।
यस्तै, पहाडी र हिमाली क्षेत्रका केही स्थानहरूमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ। मौसमविद्हरूका अनुसार उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दा तथा यात्रुहरूलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ।
हालको मौसम प्रणालीका कारण तापक्रममा सामान्य गिरावट आउन सक्ने र मौसम केही चिसो महसुस हुने बताइएको छ।
मौसम पूर्वानुमान महाशाखाले सम्भावित चट्याङ्ग तथा वर्षाबाट हुने जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।