‘सिरियल किलर’ लाई ५२ वर्ष जेल

Sharing is caring!

जेठ ६, २०७५ । जिल्ला अदालतले बालिका अपहरणपछि हत्या गरेको आरोपमा कटहरिया नगरपालिकाका बालकिशोर चौरसियालाई सर्वस्वसहित ५२ वर्ष कैद सजायको फैसला गरेको छ ।

एक महिनाको अवधिमा शृंखलाबद्ध रूपमा तीनजना बालिकाको अपहरण, बलात्कार र हत्या गरेका चौरसियालाई अपहरणका लागि २ लाख जरिवानासहित १७ वर्ष कैद, जबर्जस्ती करणीमा १५ वर्ष कैद र कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश प्रकाश श्रेष्ठको इजलासले उक्त फैसला सुनाएको हो । ‘सिरियल किलर’ चौरसियाले एक महिनाको अवधिमा विभिन्न गाउँका तीन बालिकाको अपहरणपछि बलात्कार र हत्या गरेको आरोप छ । उनले साबिक मर्यादपुर गाविसमा २०७३ भदौ ७ गते हजुरआमासँग सुतिरहेकी ४ वर्षीया बालिकालाई अपहरणपछि हत्या गरेका थिए । घटनाको भोलिपल्ट प्रहरीले चौरसियालाई पक्राउ गरेको थियो । बालिकाको शव लालबकैया बाँध छेउमा फेला परेको थियो । अपहरणपछि बलात्कार र हत्या गरी पुलबाट लालबकैया नदीमा शव फालेको उनले स्वीकारेका थिए ।
यस्तै २०७३ साउन १० गते शिवनगरकी ४ वर्षीया बालिकालाई पनि घरबाट अपहरणपछि हातखुट्टा भाँचेर बलात्कार गरी नहरमा फालेका थिए । त्यस्तै २०७३ साउन २३ गते शीतलपुर बैरगनियामा एक बालिकाको पनि हत्यापछि बलात्कार गरेका थिए । तीनवटै घटनामा उनले अपराध स्वीकारेका थिए ।यो खबर आजको कान्तिपुरबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *