अनलाईन प्रणालीको पर्खाइमा लगानीकर्ता

Sharing is caring!

जेठ ६, २०७५ । लामो समयदेखि पूँजीबजारमा अनलाईन प्रणालीद्वारा कारोबार शुरु गर्ने भन्दै आएपनि हालसम्म व्यवहारमा आएको छैन । नेपाल स्टक एक्सचेञ्जले जेठ मसान्तभित्र अनलाईन प्रणाली ल्याउने भनेको लामो समय हुँदा पनि अझै मिति भने तोक्न सकेको छैन । जेठ मसान्तभित्र यस प्रणालीको प्रयोग गर्न पाउने हो कि होइन भन्ने दुविधामा लगानीकर्ता रहेका छन् ।

नेपाल स्टक एक्सेचेञ्जले पटक–पटक अनलाईन ल्याउने समय तोक्दै र तोड्दै आएकोमा फेरि अनलाईन प्रणाली छिट्टै प्रयोगमा ल्याउने आश्वासन दिएको छ । नेपाल पूँजीबजार लगानीकर्ता सङ्घले शनिवार राजधानीमा आयोजना गरेको ‘आधारभूत तथा प्राविधिक विश्लेषणको’ सचेतना कार्यक्रममा बोल्दै नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले सफ्टवेयरको काम लगभग अन्तिम चरण पुगेको र छिट्टै प्रयोगमा आउने जानकारी गराए । उनको भनाइसँगै लगानीकर्ताहरु बजारमा अनलाईन ट्रेडिङ आउने र बजार उकालो लाग्ने आशमा बसेका छन् ।

अनलाईन ट्रेडिङ आएपछि लगानीकर्ताले ईण्टरनेटको सहायताले आफ्नो खाता लग ईन गरी विश्वको जुनसुकै कुनामा बसेर शेयर खरीद विक्री गर्न सक्नेछन् । यस सुविधाले गर्दा नेपालमा डिम्याट खोलेर विदेश गएका नेपालीहरुले समेत अनलाईनबाटै शेयर खरीद तथा विक्री गर्न सक्नेछन् । विश्व बजारबाट गर्ने लगानीले नेपालको पूँजीबजार फस्टाउने लगानीकर्ताहरुले अपेक्षा गरेका छन् । अबको शेयर बजार वुलिश प्रवृतिमा जाने आशा लगानीकर्ताहरुको छ ।

नयाँ अनलाईन प्रणाली आएपनि नेप्सेले केहि समय हालको अनलाईन समेत सञ्चालन गर्नेछ । नयाँ अनलाईन प्रणाली आएपनि सिष्टम बिग्रेको बेला कारोबारमा रोक नआओस् भनेर नेप्सेले दुबै प्रणालीलाई निरन्तरता दिने भएको छ । जब लगानीकर्तामा नयाँ अनलाईनप्रतिको विश्वास बढ्दै जान्छ, त्यसपछि पूर्ण रुपमा नयाँ अनलाईन प्रणाली चलाउने साउदको भनाइ छ । अनलाईन प्रणाली सञ्चालनमा आएपछि लगानीकर्ताहरुले ब्रोकरमा नगई आफैले कारोबार गर्न पाउनेछन् ।यो खबर आजको आर्थिक अभियानमा छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *