प्रधानमन्त्री ‘प्रचण्ड’ले थेग्न नसकेको बोझ

Sharing is caring!

वैशाख २३, २०८१ । नेकपा एमालेले विश्वासको मत दिन आनाकानी गरेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारी अप्ठ्यारोमा परेका छन् । मुख्यमन्त्री सोडारीले शुक्रबार नै विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा बैठकमा पेश लगेका थिए ।

तर एमाले नेताहरु बैठकमै नआएपछि शनिबारका लागि बैठक स्थगित गरिएको थियो । शनिबार पनि एमालेले विश्वासको मत दिन मानेन । बरु एमाले नेताहरु शनिबार काठमाडौं आए । एमाले नेताहरु काठमाडौं हिडेपछि मुख्यमन्त्री सोडारी अप्ठ्यारोमा परेका छन् ।

सुदूरपश्चिममा सरकार बन्न नसकेपछि ५३ सदस्यीय प्रदेशसभामा जम्मा चार जना सदस्य रहेको एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिइएको थियो । मुख्यमन्त्री नपाए नेपाली कांग्रेसतिर जाने प्रष्ट संकेत गरेपछि एमाले र माओवादी केन्द्रले सोडारीलाई मुख्यमन्त्री स्वीकारेका थिए । तर विश्वासको मत दिनेबेला एमाले र माओवादी केन्द्रले निर्णय लिन आनाकानी गरिरहेका छन् ।

एक जना सदस्य रहेको राप्रपापछि प्रदेशसभामा दोस्रो सानो दल एकीकृत समाजवादीले सुदूपश्चिममा सरकार बनाउने अवसर पाउनुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री पदसँग जोडिएको छ । संघीय संसदमा फराकिलो अन्तरले तेस्रो रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जसरी पनि प्रधानमन्त्री लिने स्वार्थ राख्दा सत्ता समीकरण भद्रगोल बनेको छ ।

एक वर्षभित्रै तीनपटक समीकरण फेर्दा प्रदेशहरुमा सरकार बन्नै नसक्ने अवस्था आएको छ । संघीय संसदमा ८८ सिटसहित पहिलो बनेको कांग्रेस र ७९ सिटसहित दोस्रो शक्ति रहेको एमाले भएपनि ३२ सिटको माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्दा अरु साना दलहरुमा ठूलो पदको लोभ देखिन्छ । त्यसैको एउटा उदाहरण सुदूरपश्चिममा एकीकृत समाजवादीको सरकार बन्नु हो ।

सुदुरपश्चिमजस्तै गण्डकी र कोशी प्रदेशमा पनि समस्या छ । गण्डकीमा दीपक मनाङेलाई मन्त्री बनाउँदा पनि मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वास जुटाउन सकस परिरहेको छ । कोशीमा एमाले र माओवादीको मात्रै प्रदेशसभामा ५३ जना सदस्य हुँदा पनि अल्पमतमा रहेका कांग्रेस नेता केदार कार्की मुख्यमन्त्री छन् । ९३ सदस्यीय प्रदेशसभामा २९ सिट मात्र रहेको कांग्रेस नेता कार्कीले पदबाट हट्न मानिरहेका छैनन् । यस्तो परिस्थिति पनि प्रचण्डले लगातार सत्ता समीकरण बदलिरहेकाले उत्पन्न भएको हो ।

संघीय सरकारकै स्थायित्वमाथि अविश्वास बढेको छ । राष्ट्रिय दल समेत बन्न नसकेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री दावी गरिरहेका छन् । उनको दावीले पनि प्रचण्डको सरकारमाथि आशंका गर्नुपर्ने परिस्थिति संसदीय गणितकै कारण उत्पन्न भएको हो । कांग्रेस र माओवादी सहितको गठबन्धनबाट चुनावमा भाग लिएको एकीकृत समाजवादीसँग संघीय संसदमा १० सिट छ ।

तर १० सिटको एकीकृत समाजवादीसँगै १२ सिटको जसपाले पनि गठबन्धन बदल्ने निर्णय लिएमा यो सरकार अल्पमतमा पर्नेछ । २१ सिटको रास्वपाले उपप्रधान एवं गृहमन्त्री सहित संघीय सरकारमा रोजाइका मन्त्रालय लिइरहेको छ । एकीकृत समाजवादीले पनि रोजाइकै दुई मन्त्रालय चलाइरहेका छन् । तर पनि यी साना दलहरुलाई मनाउन प्रधानमन्त्री प्रचण्डले सकेको देखिँदैन ।

यस्ता अप्ठ्यारा आइलाग्नुमा साना दलहरुमा ठूलो पदको रहर हुनु हो । कतिसम्म भने संघीय संसदमा चार सहित रहेको नाउपाले सुदूरपश्चिम सरकारको नेतृत्व गर्न छोडेको छैन । उसले आलोपालोमा समर्थन जनाउने सर्त राखेको छ । तर आलोपालोले पनि यो पार्टीको पुरै मत (७ जना प्रदेश सांसद) आउने निश्चित छैन । किनकि पदकै कारण उक्त पार्टी विभाजनको डिलमा छ । यो खबर मध्यान्हबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *