नेसपा भित्र विवाद उत्कर्षमा

Sharing is caring!

चैत २, २०८० । नेपाल समाजवादी पार्टी (नेसपा)भित्र उत्पन्न विवाद उत्कर्षमा पुगेको छ । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने कि नगर्ने विषयमा उत्पन्न विवादले पार्टीभित्रको अन्तरविरोध उत्कर्षमा पुगेको हो । नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले चैत ४ केन्द्रीय कार्यकारिणी समिति बैठक र ५ गते केन्द्रीय समिति बैठक बोलाउनुभएको छ । तर, अर्का अध्यक्ष महिन्द्र राय यादवले आफूसँग सल्लाह नै नगरी बैठक बोलाएको भन्दै विरोध गर्नुभएको हो । बिहीबार नेसपाका महासचिव रमेशप्रसाद यादवले भट्टराईले बोलाएको बैठक आधिकारिक नभएको विज्ञप्ति जारी गरेर जानकारी गराउनुभएको छ ।

‘नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक मिति २०८० चैत ४ र ५ गते बोलाइएको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ । अध्यक्षद्वयको सहमतिमा बोलाउनुपर्ने बैठक अध्यक्ष महिन्द्र राय यादवको सहमतिबिनै एकपक्षीय रूपमा अध्यक्ष डा. बाबुराम भट्टराईको निर्देशनमा बोलाइएकाले उक्त बैठक नेपाल समाजवादी पार्टीको बैठक नभएको जानकारी गराउँदछु’, विज्ञप्तिमा भनिएको छ । यता, भट्टराई पक्षले भने यादवको विज्ञप्ति पार्टीको आधिकारिक नभएको प्रतिक्रिया दिएको छ ।

यादवले माओवादीसँग एकता गर्न भट्टराईले नचाहेको आरोपसमेत लगाउनुभयो । ‘बाबुरामजीले अर्का अध्यक्ष महिन्द्रजीसँग सल्लाह नगरी एकलौटी ढंगले केन्द्रीय कार्यकारिणी र केन्द्रीय समिति बैठक बोलाउनुभएको छ । त्यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, महासचिव यादवले भन्नुभयो । भट्टराईले बोलाइएको बैठक स्थगित नगरे आफूहरूले बहिष्कार गर्ने उहाँले चेतावनी दिनुभयो । भट्टराई पछिल्लो समय माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुष्ट हुनुभएको छ । उहाँले आफूहरू एकताको पक्षमा भए पनि प्रचण्डले नै एकता नचाहेको आरोप लगाउनुभएको छ । विवादबीच यही माघ २० गते बसेको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष भट्टराईले आगामी चैत ४ र ५ गतेका लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउनुभएको थियो । ०७९ मंसिरमा भएको निर्वाचनमा नेसपाका उम्मेदवार माओवादीको चिहृनबाट चुनाव लड्नुभएको थियो । तर, निर्वाचित भएकाहरूलाई नेसपाकै मान्यता दिनुपर्ने माग बाबुरामको छ । तर, बुधबारको प्रतनिधिसभा बैठकमा महिन्द्र यादवले माओवादीकै सांसदका रूपमा बोल्नुभएको थियो । अहिले यही विषयले नेसपामा विवाद चर्किएको छ ।

यसअघि, पार्टीभित्रको चर्को दबाबको कारण बाबुराम माओवादीमा मिसिन आफ्नै नेतृत्वमा पार्टी एकता संयोजन समिति बनाउन तयार हुनुभएको थियो । नेसपाको निर्णयपछि माओवादीले पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा एकता संयोजन समिति गठन गरेको थियो । त्यसअघि माओवादी उपाध्यक्ष एवं वार्ता समिति संयोजक कृष्णबहादुर महरा र नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठको नेतृत्वमा वार्ता समिति पनि बनाएको थियो । दुवै पार्टीका अध्यक्षको नेतृत्वमा संयोजन समिति गठन भए पनि प्रचण्ड र बाबुरामको अनिच्छाको कारण अहिलेसम्म कुरा अघि बढ्न सकेको छैन ।

प्रचण्ड अहिले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमाले र नेकपा एससहितको समीकरणमा अघि बढेपछि बाबुरामसँगको दूरी थप बढेको छ । माओवादीसँगको एकतामा बाबुरामले चासो नदेखाए पनि अर्का अध्यक्ष महेन्द्रराय यादव पक्षका नेताहरू तयार छन् । प्रचण्डले पनि बाबुराम बाहेकका नेताहरूलाई पार्टीमा भित्र्याउँदा व्यवस्थापनमा सहज हुने भएकाले एकता प्रक्रियामा आलटाल गरिरहेको टिप्पणी पनि भइरहेको छ । यो खबर हिमालय टाईमसबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *