पेट्रोलियम पाइपलाइन १५ महिनाअघि सम्पन्न हुँदै

Sharing is caring!

साउन ३, २०७६ । तोकिएको समयभन्दा झन्डै आधा समयमै भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याइने भएको छ ।
परीक्षणका रूपमा दैनिक पेट्रोलियम पदार्थ अमलेखगञ्ज ल्याइन थालिएपछि तोकिएको समयभन्दा झन्डै आधा समयमै पेट्रोलियम आउने भएको हो । यो आयोजना ३० महिनामा तयार गर्ने गरी १५ महिना अघि सुरु गरिएको थियो । नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले परीक्षणका रूपमा पेट्रोलियम ल्याउन थालिएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “हामी साउनभित्रै पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउने तयारीमा छौंँ । ” पेट्रोलियम पाइपलाइन राष्ट्रिय गौरवको आयोजना पनि हो ।
भारतको बरौनीदेखि पटना, पटनादेखि मोतिहारी र मोतिहारीदेखि अमलेखगञ्जसम्मको क्षेत्रमा पेट्रोलियम आपूर्तिको दैनिक परीक्षण भइरहेको छ । गोइतको भनाइ छ, “अहिले कतिसम्म धमिलो आयो, पानी मिसिएको छ÷छैन, शुद्धता कस्तो छ, यी सबै कुराको परीक्षण भइरहेको छ । ”
पाइप लाइनको हाइड्रो टेस्टिङपछि अन्तिम परीक्षण गरिएको हो । पाइप लाइनबाट पहिलो चरणमा डिजेल ल्याउने तयारी भएको छ । सफ्टवेयर जडानसँगै फ्लो मिटरको जडानसहित भण्डारणको पनि परीक्षण भइरहेको छ ।
नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा निर्माण भएको पाइप लाइनको लम्बाइ ६९.५ किलोमिटर छ । जसमा ३२.२५ किलोमिटर भारत र ३७.५ किलोमिटर नेपालमा पर्दछ । अमलेखगञ्ज डिपोमा पाइपबाट आएको तेल भण्डारणको संरचना निर्माण सकिएको छ । कुल ४१ लाख किलोलिटरका दुईवटा र ३९ लाख किलोलिटर क्षमताका दुईवटा ट्याङ्की तयारी अवस्थामा छन् । १०.७५ इन्च व्यासको पाइपबाट प्रतिघन्टा ३ लाख लिटर आपूर्ति हुनेछ ।
पेट्रोलियम पाइप लाइनका लागि नेपाल र भारतबीच २०७२ सालमा सम्झौता भएको थियो । दैनिक २० घन्टा पाइपलाइन सञ्चालन गर्दा चार हजार किलोलिटर डिजेल ल्याउने क्षमताको पाइपलाइन छ । पाइपलाइन सञ्चालनपछि महिनामा ९० करोड रुपियाँ ढुवानी भाडा बचत हुनेछ । डिजेल ल्याउँदा वार्षिक दुई अर्ब रुपियाँ नेपालको बचत हुने निगमको दाबी छ ।
कुल दुई अर्ब ७५ करोड रुपियाँ लागतमध्ये पाइप लाइनका लागि दुई अर्ब रुपियाँ र अमलेखगञ्ज डिपो निर्माणका लागि ७५ करोड रुपियाँ लगानी गरिएको छ । जसमा दुई अर्ब रुपियाँ भारत सरकारको र ७५ करोड रुपियाँ नेपाल आयल निगमको लगानी हो ।
निगमका अनुसार अमलेखगञ्जमा भण्डारण टङ्की रहेको छ । हाल २३ हजार किलोलिटर क्षमताको टङ्की रहेकोमा ४२ हजार किलोलिटर क्षमता भएको टङ्की निर्माण भएको छ । सो टङ्की निर्माणपछि एकै पटकमा २४ वटा गाडीले इन्धन भर्न मिल्नेछ । जसअनुसार दैनिक तीन सय गाडीले तेल भर्न मिल्नेछ ।
प्रवक्ता गोइत भन्नुहुन्छ, “पाइप लाइनबाट ल्याउन थालिएपछि ढुवानी गर्नु परेन, ढुवानी खर्च बचत भयो, मिसावटको समस्या रहेन, भन्सारमा हुने चेकजाँचका समस्याहरू हँुदैन, बन्द हडतालले पनि असर गर्दैन, समयको पनि बचत भयो, सबै हिसाबले भरपर्दो छ । त्यसैले पनि छिटो काम सम्पन्न गरेका हौँ । ”
हाल अमलेखगञ्ज डिपोका लागि भारतबाट ढुवानी गर्न सात सय ट्याङ्कर सञ्चालित छन् । निगमका अनुसार हाल मासिक पेट्रोलको आपूर्ति करिब ५० हजार किलोलिटर रहेको छ । डिजेल करिब एक सय ८० किलोलिटर रहेको छ भने मट्टितेल दुई हजार किलोलिटर रहेको छ । हवाई इन्धन २० हजार किलोलिटर आपूर्ति हुँदै आएको थियो ।
अमलेखगञ्जसम्मको पाइप लाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने गरी छलफल भएको गोइतले जानकारी दिनुभयो ।
सन् १९९५ मा अन्तरदेशीय पेट्रोलियम पाइप लाइनका लागि नेपाल र भारतबीच समझदारी (एमओयू) भएको थियो तर काम हुन सकेन । सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणमा आउनुहुँदा पाइपलाइन आयोजना अगाडि बढाउने प्रतिबद्धता गरेपछि थालिएको थियो । सन् २०१५ को अगस्ट (साउन)मा नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन निर्माण गर्ने सम्झौता भएको थियो । यो खबर गोरखापत्रबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *