ईपीएस रोस्टरमा रहेका नेपालीहरुले सेवा क्षेत्र परिवर्तन गर्न सक्ने

Sharing is caring!

वैशाख १५, २०८१ । कोरियन भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेका नेपाली युवाहरूले चाहेअनुसारको सेवा क्षेत्र (सर्भिस सेक्टर) परिवर्तन गर्न सक्ने भएका छन् । ईपीएस कोरिया शाखाले शुक्रबार एक सूचना जारी गर्दै कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रतर्फ रोस्टरमा रहेकाहरूले २०२४ डिसेम्बरको ३१ तारिकभित्र सेवा क्षेत्र परिवर्तन गर्न सक्ने बताएको छ ।

ईपीएस कोरिया शाखाले रोस्टर परिवर्तन गर्न सक्नेहरुको नामावलीसहितको तालिका बिहीबार मानव संशाधन विकास (एचआरडी) कोरियाले पठाएको जनाएको छ । शाखाका अनुसार ९ हजार ४ सय २८ जनाको नाम पठाइएको छ ।

पहिले नै रोजगारदाताले करार सम्झौता गरिसकेको वा रोस्टर अवधि समाप्त भइसकेको वा कुनै कारणले अयोग्य भएमा सेवा क्षेत्र परिवर्तन गर्न नपाइने बताइएको छ । सेवा क्षेत्र परिवर्तन गरिए पनि रोस्टरको अवधि भने थप नभइ अघिल्लो रोस्टरको बाँकी अवधि बराबर नै हुने सूचनामा जनाइएको छ ।

भाषा परीक्षा पास गरेर कोरिया जान पर्खेर बसेका हजारौं युवाहरुले आफूहरूको समस्या समाधानका लागि पहल गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याललाई अनुरोध गरेका थिए । गुनासो प्राप्त भएपछि श्रममन्त्री अर्यालले कोरियाका सम्बन्धित निकायका पदाधिकारीसँग पटक–पटक छलफल गरेका थिए ।

पछिल्लोपटक बुधबारमात्रै मन्त्री अर्यालले एचआरडी कोरिया मुख्यालयका प्रतिनिधि, एचआरडी कोरियाका नेपाल प्रतिनिधि, ईपीएस शाखा र कोरिया रिटर्नी एवम् रोस्टरमा रहेकाहरूबीच छलफल गराएका थिए । सो छलफलमा कोरिया पक्षले शीघ्र निकास निकाल्ने प्रतिबद्धता व्यक्त गरेको थियो । त्यसको भोलिपल्ट बिहीबार नै कोरिया पक्षले रोस्टर परिवर्तन गर्न सकिने निर्णय गरेको हो ।

कोरिया जान पर्खेर बसेका हजारौं युवा तथा सरोकारवालाहरूले क्षेत्र परिवर्तन गर्न पाउने कोरिया सरकारको निर्णयलाई सकारात्मक भनि टिप्पणी गरेका छन् । नेपालीको आकर्षक गन्तव्य दक्षिण कोरियामा लामो समय निजी क्षेत्रले पठाएको भएपनि विगत १५ वर्षदेखि सरकारले पठाउँदै आएको छ । १५ वर्षकको अवधिमा ईपीएस प्रणालीमार्फत नेपालबाट एक लाख एक हजार ५ सय ५६ जना नेपाली श्रमिक कोरिया पुगेका छन् । जसमध्ये महिलाको संख्या ६ हजार ७ सय रहेकोे छ भने बाँकी पुरुष छन् । यो खबर मध्यान्हबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *