काठमाडौं । आज साउन १५ गते, देशभर वैदिक सनातन परम्पराअनुसार खीर खाएर मनाइँदैछ । वर्षा ऋतुसँग जोडिएको यो विशेष दिन नेपाली समाजमा परम्परागत रूपमा पायस (खीर) खाएर मनाउने चलन रहिआएको छ ।
प्राचीनकालदेखि नै असार १५ मा दही च्यूरा र साउन १५ मा खीर खाने चलन छ। साउन महिना भगवान् शिवको आराधना गरिने महिनाका रूपमा समेत चिनिन्छ । शिवलाई दूध तथा दूधबाट बनेका परिकार मन पर्ने विश्वासका साथ खीरलगायत मिठाई विधिपूर्वक चढाइने गरिन्छ। यही मान्यता अनुसार साउनको मध्य अर्थात् १५ गते खीर खाएर धार्मिक भावनासहित पर्व मनाउने परम्परा रहेको हो ।
वैदिक सनातन धर्ममा श्राद्धको अवसरमा गाईको दूधमा पकाइएको खीर अनिवार्य रूपमा बनाउने परम्परा अझै जीवितै छ । चामल, सावधाना, सेवई, मकै, गाजर आदिबाट विभिन्न प्रकारका खीर बनाइने गरिन्छ । यसमध्ये सावधानलाई फलफूलकै वर्गमा राखिन्छ भने, साउनमा सजिलै पाइने हरियो मकैबाट मकैको खीर बनाएर खाने चलन पनि बढ्दो छ ।
नेपाली समाजमा हरेक महिनाको १५ गतेलाई विशेष रूपमा मनाउने परम्परा छ । असार १५ मा दही च्यूरा, साउन १५ मा खीर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घिउ खट्टे, माघ १५ मा मालपुवा लगायतका परिकार बनाई इष्टमित्र र छोरीचेलीलाई बोलाएर खुवाउने र रमाइलो गर्ने संस्कृति अझै कायमै छ ।