काठमाडौं । रसुवाको भोटेकोशी बाढीपछि रोकिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको साप्ताहिक मिडिया ब्रिफिङ पुनः सुरु भएको छ।
गत साउनदेखि सुरु भएको ब्रिफिङ भदौ १० गते बाढी आएपछि रोकिएको थियो। विपद्पछि सरकारका निकायहरू खोज, उद्धार, उपचार, राहत, पुनःनिर्माण तथा पुनःस्थापनामा केन्द्रित भएका थिए।
कार्यालयका अनुसार यस अवधिमा प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भोटेकोशी बाढी र जलवायु संकटबारे नेपालको धारणा प्रस्तुत गरेका छन्। चाडपर्वलाई लक्षित गर्दै यातायात तथा अत्यावश्यक सेवा नियमित राख्ने र बजार अनुगमन प्रभावकारी बनाउने निर्णयसमेत गरिएको छ।
सरकारले संघीय मन्त्रालयका कार्ययोजना र प्रगतिको समीक्षा गर्नुका साथै सचिव तथा महाशाखा प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ। भोटेकोशी बाढीको क्षति तथा आवश्यकता पहिचान सम्पन्न भएको र विपद्पछिको आवश्यकता मूल्यांकन जारी रहेको जनाइएको छ।
बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १६ अर्ब २८ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ भने स्थानीय तहका लागि १ अर्ब रुपैयाँ निकासा गरिएको छ।
यसैगरी, ‘हेलो सरकार’मा प्राप्त १७ हजार ३९७ गुनासामध्ये ७ हजार ८१८ वटा पूर्ण समाधान गरिएको र ६ हजार ८३७ वटा फछ्र्यौट गरिएको कार्यालयले जनाएको छ।
सरकारी निर्णय प्रक्रिया डिजिटल र समयसीमायुक्त बनाउन नयाँ नियमावली जारी गरिएको छ। साथै नीति अनुसन्धान, सरकारी डेटा म्यापिङ तथा नेपाल इन्टरप्राइज आर्किटेक्चरसम्बन्धी काम अघि बढाइएको कार्यालयले जनाएको छ।