३५५ मेगावाटका २४ सोलार परियोजनासँग पीपीए सुरु

hitkhabar.com


काठमाडौं । महिनौँदेखि रोकिएको विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) पुनः सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले ३५५ मेगावाट क्षमताका २४ वटा सोलार परियोजनासँग पीपीए गरेको हो ।

यसअघि तत्कालीन उर्जा मन्त्री दीपक खड्का र तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको कार्यकालमा रोकिएको पीपीए अहिले पुनः सुरु भएको हो । प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ पुनः उर्जा मन्त्री बनेपछि र मनोज सिलवाल कार्यकारी निर्देशकमा नियुक्त भएपछि रोकिएका काम अघि बढाइएको हो ।

प्राधिकरणका अनुसार १० मेगावाटभन्दा कम क्षमताका आयोजना १८ महिनाभित्र र १० मेगावाटभन्दा माथिका आयोजना २४ महिनाभित्र उत्पादनमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ । प्राधिकरणले २५ वर्षका लागि पीपीए गर्दै २२० केभी, १३२ केभी र ३३ केभी प्रसारण लाइन नजिकका आयोजना बाट विद्युत खरिद गर्नेछ ।

सोलार परियोजनामा लगानी लागत पनि पछिल्ला वर्षमा उल्लेख्य रुपमा घटेको छ । केही वर्षअघि प्रतिमेगावाट करिब २० करोड रुपैयाँ लाग्ने लागत हाल प्रविधि सस्तो भएपछि औसत ५ करोड रुपैयाँमा झरेको प्राधिकरणको भनाइ छ ।

ऊर्जा सुरक्षालाई प्राथमिकतामा राख्दै प्राधिकरणले सौर्य ऊर्जामा ध्यान बढाएको र विद्युत व्यवस्थापनलाई अझ सहज बनाउन यो कदम चालिएको बताइएको छ ।

प्रतिक्रिया