काठमाडौं । नेपालभर आज हिन्दु धर्मावलम्बीले धुमधामका साथ बाबुको मुख हेर्ने दिन मनाइरहेका छन्।
परम्पराअनुसार छोराछोरीले बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई सम्मान प्रकट गर्ने चलन छ। बाबु दिवङ्गत भएकाले नहुनेले भने विभिन्न पवित्र स्थलमा पुगेर पिण्डदान, तर्पण तथा श्राद्ध गरी सिदा दिने गरेका छन्।
यस दिन विशेषगरी काठमाडौंको उत्तरगया गोकर्णेश्वर महादेव मन्दिरमा ठूलो मेला लाग्छ। यहाँ दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको घुइँचो लाग्ने गर्छ।
त्यस्तै, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णुपादुका र सुनसरीको बराहक्षेत्रलगायतका धार्मिक तीर्थस्थलमा पनि पितृको नाममा श्राद्ध गर्ने परम्परा रहँदै आएको छ।
यसै दिन कुशे औँसी पनि मनाइन्छ। वैदिक सनातन धर्मअनुसार ब्राह्मणद्वारा विधिपूर्वक उखेलिएको कुश घर–घरमा भित्र्याइन्छ। धार्मिक विश्वासअनुसार आज उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र यसले परिवारको कल्याण हुने मान्यता छ।
शास्त्रका अनुसार आज थोरै दान गरे पनि हजारौँ गुणा बढी फल प्राप्त हुने भएकाले यो दिनलाई पुण्य पर्वका रूपमा पनि मनाइन्छ।