जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले सोमबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणसँगै उनले मधेश आन्दोलनका शहीदहरुलाई ‘मधेस रत्न’ सम्मानले सम्मानित गर्ने पहिलो निर्णय गरेका छन्।
मुख्यमन्त्री यादवले देशमा संघीयता स्थापनाका लागि शहीदहरुको योगदान अतुलनीय रहेको उल्लेख गर्दै भने, “संघीयता प्राप्तिमा मधेश आन्दोलनका शहीदहरुको भूमिका ऐतिहासिक छ। उनीहरूको परिवारलाई ससम्मान ‘मधेस रत्न’ सम्मान प्रदान गरिनेछ।”
यसअघि निवर्तमान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले यादवलाई मुख्यमन्त्रीको सपथ ग्रहण गराएकी थिइन्। सपथ ग्रहण गरे पनि उनले तत्काल पदभार सम्हालेका थिएनन्।
जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जेनजी आन्दोलनका क्रममा जलेर क्षतिग्रस्त भएपछि अहिलेका लागि मधेश भवनभित्र अस्थायी कार्यालय सञ्चालनमा ल्याइएको छ। मुख्यमन्त्री यादवले बिहान सचिवहरुलाई पुरानो कार्यालय मर्मतसम्भार गर्न निर्देशन दिएका थिए, तर बेलुकी उनले अस्थायी कार्यालयमै पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहणको क्रममा मधेश भवन बाहिर भने विभिन्न दलका कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए। जनमत पार्टी, जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, नेपाली कांग्रेस, लोसपा, नेकपा (एस) र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताहरुले टायर बालेर नाराबाजी गरेका थिए।
सुरक्षा निकाय र प्रदर्शनकारीबीच केहीबेर झडप समेत भएको थियो।