जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले शिक्षाको गुणस्तर सुधारलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताएका छन् ।
मंगलबार शिक्षा तथा संस्कृति मन्त्रालय, मधेश प्रदेशले जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई साइकल वितरण गर्दै मुख्यमन्त्री सिंहले खस्कँदो शैक्षिक स्तर उठाउन विद्यार्थी, शिक्षक, अभिभावक र सरोकारवालाबीच संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गरे ।
उत्कृष्ट उपलब्धि हासिल गर्ने विद्यार्थीलाई बधाई दिँदै उनले उज्ज्वल भविष्यको शुभकामना दिए । विगतमा मधेश प्रदेशको शिक्षा स्तरले देशव्यापी छुट्टै पहिचान बनाएको स्मरण गर्दै मुख्यमन्त्री सिंहले सो पहिचानलाई पुनः कायम गर्न प्रदेश सरकार योजनाबद्ध ढंगले अघि बढिरहेको जानकारी दिए ।
उनले प्रदेशमा कर्मचारी अभाव समाधानतर्फ सरकारले चासो दिएको बताउँदै लोकसेवा आयोगमार्फत हुने भर्ना पर्याप्त नभएकाले प्रदेश लोकसेवा आयोग गठन गरी हालसम्म ३९५ जना पुराना र २११ जना नयाँ कर्मचारी भर्नाको लागि सिफारिस गर्न सफल भएको जानकारी दिए ।
कार्यक्रममार्फत धनुषा, महोत्तरी, सप्तरी, सर्लाही र सिरहा जिल्लाका स्थानीय तहमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने १४६ जना छात्र–छात्रालाई साइकल वितरण गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।