काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । सोमबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै उनी सिंहदरबारस्थित मन्त्रालय पुगेका हुन् ।
पदभार ग्रहणपछि बोल्दै पुनले मन्त्री क्वाटर, अतिरिक्त सुविधा र गाडीमा विशेषाधिकार नलिने बताएका छन् । उनले भने, “मलाई मन्त्री क्वाटर चाहिंदैन । मन्त्रालयकै एउटा कोठा भए पुग्छ, खाट, टेबुल र कुर्सी मात्रै भए हुन्छ । म आफैं पकाएर खान सक्छु ।”
उनले मन्त्रालयको गाडी आवागमनका लागि मात्र प्रयोग गर्ने बताए । सुरक्षा व्यवस्थाबारे पुनले थपे, “मन्त्रालयबाट बाहिर जाँदा सुरक्षाकर्मीहरु मेरो पछि आउनु पर्दैन ।”
समितिहरु बनाउने तर नाम मात्रैमा सीमित गर्ने परम्परा अन्त्य गर्ने प्रतिबद्धता पनि उनले जनाए । पुनले भने, “समिति बनाएर काम नगर्ने, दुई–चार मिटिङ गरेर पैसाले रोक्ने परम्परा अब हुँदैन । चाहे सानो काम होस्, ठोस हुनैपर्छ ।”
शिक्षा ऐनबारे आफूलाई ज्ञान नभएको स्वीकार गर्दै उनले विज्ञहरुको सुझावलाई प्राथमिकता दिने बताएका छन् । पुनले भने, “मलाई शिक्षा ऐनबारे थाहा छैन । त्यसका लागि विज्ञहरुको टोली बनाउँछु । उनीहरुले दिएको सुझावअनुसार अघि बढ्ने हो । सबैको बुद्धि जोडेर अघि बढ्छौं ।”
विज्ञान मन्त्रालयले अझै ठोस काम गर्न नसकेको भन्दै उनले ६ महिनाभित्र केही देखिने काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।