काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले प्रतिनिधिसभा निर्वाचनमा भएको खर्चको विवरण जिल्ला निर्वाचन कार्यालय, झापामा बुझाएका छन्। उनले निर्वाचन अभियानका क्रममा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरण पेश गरेका हुन्।
सोमबार बिहान उनका प्रतिनिधि नविन भण्डारीमार्फत उक्त खर्च विवरण कार्यालयमा बुझाइएको जनाइएको छ। विवरणसँगै खर्चसम्बन्धी बिल, भर्पाइ तथा बैंक स्टेटमेन्टसमेत संलग्न गरिएको बताइएको छ।
उक्त विवरण अनुसार सवारी साधन भाडा, हवाई यात्रा, मतदाता प्रशिक्षण कार्यक्रम, खाजा व्यवस्था, वडा स्तरीय प्रचार कार्यक्रम, घरदैलो अभियान, नमुना मतपत्र छपाइ, पानी तथा स्टेशनरी खर्च, प्रचार सामग्री (झण्डा, ब्याच, ब्यानर र स्टिकर) तथा मनोनयन दर्ताजस्ता शीर्षकमा खर्च गरिएको उल्लेख छ।
खर्चमध्ये सबैभन्दा बढी रकम घरदैलो कार्यक्रममा भएको देखिन्छ। १५ दिन सञ्चालन गरिएको घरदैलो अभियानमा करिब ५ लाख ८० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ। त्यस्तै १५ दिनका लागि दुईवटा सवारी साधन भाडामा लिँदा करिब २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च भएको जनाइएको छ।
यसैगरी पाँच पटकको हवाई यात्रामा ३५ हजार रुपैयाँ खर्च भएको उल्लेख छ भने दुई महिनाको खानेपानी व्यवस्थापनका लागि करिब १ लाख २० हजार रुपैयाँ खर्च गरिएको विवरणमा देखिन्छ।
उक्त खर्च विवरणमा भने हेलिकोप्टर प्रयोगसम्बन्धी खर्च उल्लेख गरिएको छैन। साथै झापामा निर्वाचन खर्च विवरण बुझाउने उम्मेदवारमध्ये बालेन्द्र शाह पहिलो भएको सम्बन्धित कार्यालयले जनाएको छ।