काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा संघीय संसद प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शुभकामना सन्देश जारी गरेका छन् ।
सभामुख घिमिरेले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै संविधान निर्माणमा योगदान पुर्याउने व्यक्तित्वप्रति उच्च सम्मान प्रकट गरेका छन् । उनले विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदहरूलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
उनले जनताको करिब सात दशक लामो संघर्ष, त्याग र बलिदानपछि वि.सं. २०७२ साल असोज ३ गते जारी भएको संविधानले नेपाललाई सहभागितामूलक, समावेशी र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा अगाडि बढाएको उल्लेख गरे ।
संविधान जारी भएको एक दशकको यात्रामा नेपालले लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्दै महत्त्वपूर्ण उपलब्धि हासिल गरेको सभामुखको भनाइ छ । संघ, प्रदेश र स्थानीय तहमा निर्वाचन सम्पन्न भई जनप्रतिनिधिहरूको सहभागितामार्फत सरकार सञ्चालनको नयाँ अभ्यास अघि बढिरहेको उनले बताए ।
भदौ २३–२४ गते भएको भ्रष्ट्राचार विरोधी आन्दोलनमा देखिएको हिंसा र क्षतिलाई उल्लेख गर्दै उनले संविधानप्रति जनभावना र संवेदनशीलता स्पष्ट भएको बताए । लोकतन्त्रको अभ्यास संविधानमै सुरक्षित रहेको उनले जोड दिए ।
सभामुख घिमिरेले भने, “लोकतान्त्रिक शासन प्रणालीको विकल्प अझ उन्नत लोकतन्त्र मात्र हुन सक्छ । संविधानको रक्षा गर्दै विधिसम्मत् परिमार्जनमार्फत समुन्नत र सभ्य समाज निर्माण गर्नु आजको आवश्यकता हो।”
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ ले नेपालीहरूमा संविधानप्रति सम्मान, राष्ट्रिय एकता, गौरव र समर्पणको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै उनले पुनर्निर्माणको अभियानमा सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गरेका छन् ।