काठमाडौं । यही फागुन २१ गते हुने निर्वाचनका लागि देशभर ६ हजार ७ सय ४३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ ।
निर्वाचन आयोगले यसपटक विगतको तुलनामा बदर मत प्रतिशत घटाउने उद्देश्यका साथ सो कार्यक्रमको सुरुआत गरेको हो । ठूलै धनराशि खर्च गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी नभएको पनि विगतमा आलोचना हुँदै आएको छ । मतदाता शिक्षा कार्यक्रम १७ गतेसम्म सञ्चालन हुने छ । निर्वाचनको प्रक्रिया, मताधिकारको महत्व तथा मतदानबारे सर्वसाधारणलाई बुझाउने कार्यको सुरुआत भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो ।
आयोगले मतदाता शिक्षाका लागि घरदैलो जान देशभरका ६ हजार ७ सय ४३ वटै वडामा स्वयंसेवक खटाइसकेको छ ।
त्यससँगै विद्यालयस्तरमा कार्यक्रम सञ्चालन गरिनेछ । त्यस्तै, सामाजिक सञ्जाल, सञ्चारमाध्यमबाट मतदाता शिक्षा प्रचार गर्नेछ । बाल विकास सहजकर्ता, मातृ शिशु कार्यकर्ता, महिला स्वास्थ्य स्वयंसेविका वा सामुदायिक सेवा केन्द्रका परिचालकमध्येबाटै स्वयंसेवक खटाइएको आयोगले जनाएको छ ।
यस कार्यक्रमको मुख्य उद्देश्य भनेको मतदातालाई सही, तथ्यपरक र उपयोगी जानकारी प्रदान गरी जिम्मेवार र सचेत मतदान संस्कृतिको विकास गर्ने रहेको बताउँदै आयोगका प्रवक्ता भट्टराईले भन्नुभयो– ‘यसले मतदाताको सहभागिता वृद्धि गर्ने र बदर मतको संख्या घटाउन टेवा पु¥याउने छ ।’
आयोगको तथ्यांकअनुसार २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा कुल १ करोड १० लाख ४७ हजार ३४ मत खसेकोमा ५ लाख ५९ हजार ८६ अर्थात् ५ दशमलव ०६ प्रतिशत बदर भएको थियो । त्यस्तै, समानुपातिकतर्फ १ करोड ११ लाख २६ हजार २ सय २६ मत खसेकोमा ५ लाख ६६ हजार १ सय ४४ अर्थात् ५ दशमलव ०८ प्रतिशत बदर भएको थियो ।
यसअघि आयोगले मतदाता शिक्षासम्बन्धी कार्यक्रम स्वीकृत गरिसकेको छ । मतदाता शिक्षाले मतपत्र बदर नहुने गरी मतदान गर्न टेवा पु¥याउने आयोगको विश्वास रहेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा खसेको मतसमेत बदर भएकाले पनि मतदाता शिक्षा दिनुपर्ने आवश्यकता बढेको बताइएको छ । यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ ।