कांग्रेस–एमालेको गलत सोचविरुद्धको अडानका कारण लाखौँ शिक्षकले समर्थन गरेका छन् : प्रचण्ड

hitkhabar.com


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो क्रममा रहेको दाबी गरेका छन् ।

कर्णाली प्रदेशको पूर्ण बैठकलाई आइतबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रचण्डले पछिल्ला विभिन्न निर्वाचनमा कांग्रेस–एमाले मिल्दा पनि माओवादी निकट उम्मेदवार विजयी भएको उदाहरण दिँदै जनविश्वास पुनः प्राप्त हुँदै गएको बताए ।

उनका अनुसार स्थानीय तह, स्ववियु, पत्रकार महासंघदेखि नेपाल पर्वतारोहण संघसम्म माओवादी निकट उम्मेदवारको सफलता जनताको बढ्दो विश्वासको प्रतिक हो ।

प्रचण्डले भने, “हाम्रो पार्टी र संगठनप्रति जनताको आशा र भरोसा बढ्दो छ। कांग्रेस–एमाले एकातिर भए पनि धेरै स्थानमा हामी विजयी भएका छौँ ।”

उनले पार्टीभित्र द्वन्द्व सिर्जना गर्न विभिन्न षड्यन्त्र भइरहेको आरोप लगाउँदै गुटबन्दी, अराजकता र अनुशासनहीनताको अन्त्य गर्दै पार्टीलाई सुदृढ र एकताबद्ध बनाउन स्थायी समितिले संकल्प गरिसकेको जानकारी दिए ।

शिक्षा विधेयकसहितका राष्ट्रिय मुद्दामा माओवादी केन्द्रले लिएको अडान जनस्तरमा सकारात्मक सन्देश पुगेको उल्लेख गर्दै उनले भने, “कांग्रेस र एमालेको गलत सोचको विरुद्धमा हामीले लिएको अडानका कारण लाखौँ शिक्षकहरूले समर्थन देखाएका छन् ।”

उनले वाईसीएल, विद्यार्थी संगठनलगायत जनवर्गीय संगठनलाई श्रम र उत्पादनसँग जोड्ने प्रयास सफल भइरहेको दाबी गर्दै संगठन विस्तारलाई अझ तीव्र बनाउन निर्देशन पनि दिए । “अब घर–घरमा पुग्ने, टोल–टोलमा संगठन निर्माण गर्ने कार्यलाई गतिशील बनाउनुपर्छ,” प्रचण्डले जोड दिए ।

प्रतिक्रिया