काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको विस्तारित बैठक आगामी कार्तिक १४ र १५ गते चितवनमा गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको पार्टी सचिवालय बैठकले उक्त निर्णय गरेको हो।
पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएअनुसार, बैठकले केन्द्रीय सदस्य एवं पूर्व सांसद हरि ढकालको संयोजकत्वमा विस्तारित बैठक व्यवस्थापन समिति गठन गरेको छ। प्रवक्ता झाले भने, "पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आगामी कार्तिक १४ र १५ गते चितवनमा गर्ने निर्णय गरिएको छ। उक्त बैठकको व्यवस्थापनका लागि हरि ढकालको संयोजकत्वमा समिति गठन गरिएको छ," उनले बताए।
त्यस्तै, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्तावित एकीकृत निर्वाचन खाकाअन्तर्गत उम्मेदवार छनोट विधिमा प्रदेशमार्फत् जिल्ला, निर्वाचन क्षेत्र र पालिका तहसम्मको सुझाव संकलन गरी मस्यौदा तयार गर्ने कार्यदल पनि गठन गरिएको छ।
सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा सातै प्रदेशका सभापति र केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि सम्मिलित उक्त कार्यदललाई सुझाव संकलनका लागि सात दिनको समयसीमा तोकिएको छ। यसअन्तर्गत पार्टीले कार्तिक १५ भित्र उम्मेदवारी आव्हानको तयारी गर्ने निर्णय गरेको छ।
यस्तै, वर्तमान राजनीतिक परिस्थितिमा राष्ट्रिय हित, एकता र सौहार्दता प्रवर्द्धनका लागि विभिन्न सामाजिक–राजनीतिक शक्ति र समूहसँग वार्ता तथा सहकार्यका लागि बनाइएका समितिहरूको कार्यक्षेत्रलाई एकरूपता दिँदै, वृहत्तर राजनीतिक सहकार्य र निकासको वातावरण बनाउन उच्च संवाद समितिको संयोजन पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले गर्ने निर्णय पनि भएको छ।